खराब मौसमका कारण धनगढी विमानस्थलबाट हुने हवाई उडान प्रभावित
खराब मौसमका कारण धनगढी विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन्। मौसममा आएको परिवर्तनसँगै भिजिविलिटी पर्याप्त नहुँदा उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ। धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले प्रतिकुल मौसमका कारण मंगलबार साँझ काठमाडौँबाट धनगढीका लागि हुने श्री एयरलाईन्सको उडान नभएको दिनेश खबरलाई बताए।
श्री एयरलाईन्स धनगढीका प्रमुख गजेन्द्रबहादुर शाहीले मंगलबार साँझको उडान प्रभावित भएको बताए। यस्तै आज बिहान ९ बजेर १५ मिनेटमा हुने उडान पनि खराब मौसमका कारण नहुने देखिएको बताए। बुद्ध एयरले भने निर्धारित समय भन्दा ढिलोगरी उडान भरिरहेको जनाएको छ।
बुद्ध एयर धनगढीका प्रमुख बुधराम माझीले प्रतिकुल मौसमका कारण बिहान साढे १० बजे काठमाडौँ हुने उडान १२ बजे मात्र भईरहेको बताए। धनगढीमा आज पनि बिहानैदेखि हुस्सु लागेको छ।