सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ट्राफिक प्रहरीद्धारा भ्रमण वर्ष लक्षित सुरक्षीत यात्रा योजना

२०७६ पुष ७, ०७:४५ भुवन भट्ट

सुदूरपश्चिममा ट्राफिक प्रहरीले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सुरक्षीत यात्रा योजना ल्याएको छ। सुरक्षीत यात्रा भए मात्र पर्यटकीय गन्तव्यमा पुग्न सकिने भन्दै प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले विशेष योजना लागु गरेको हो।

प्रहरीले विशेष योजना अन्तरगत सुरक्षा संवेदनशिल क्षेत्रमा सर्तकता अपनाउन थालेको छ। विभिन्न क्षेत्रमा नमूना ट्राफिक प्रहरी बोर्ड  राख्दै प्रदेशमा आउने पर्यटकको स्वागतका लागी मुख्य नाका र सुरक्षाका दृष्टिकोणले संवेदनशील ठानिएका स्थानमा नमुना बोर्ड थप्ने योजना रहेको जनाएको छ।

सुदूरपश्चिमको राजधानी कैलाली सहित पहाडी जिल्लाका मुख्य नाकामा पर्यटकको स्वागतका लागि छुट्टै ट्राफिक प्रहरी समेत खटाउने योजना रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय सुदूरपश्चिमका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए।

कैलालीको त्रिनगर भन्सार र कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिने पर्यटकलाई स्वागत गर्ने कार्यक्रम रहेको प्रहरी उपरिक्षक श्रेष्ठले बताए। विगतमा चेकजाँचका नाममा प्रहरीले पर्यटकलाई सताउने गरेकोमा अहिले भने सीमा नाकामा एक पटक चेकजाँच गरेपछि पटक पटक नगर्ने नीति ल्याईएको छ।

तर भ्रमण वर्षमा प्रदेश तथा स्थानीय सरकारले पर्यटकको सहजताका लागी कुनै कार्यक्रम अघि नसारेको भन्दै आपत्ती जनाईएको छ। स्थानीय तहहरु सँग पर्यटकीय क्षेत्रमा उज्यालोको व्यवस्था गरिदिन माग भएपनि चासो नदिएको प्रदेश ट्राफिक प्रहरीका प्रमुख श्रेष्ठले बताए।

गोदावरी नगरपालिकाले धार्मिक तथा पर्यटकीय स्थल गोदावरी क्षेत्रमा उज्यालोका लागी कुनै व्यवस्थापन नगरेको उनले बताए। नगरपालिकासंग उज्यालो व्यवस्थापनका लागि आग्रह गरिएपनि वेवास्ता गरिएको छ। विगतमा ट्राफिकले सताउने गरेकै कारण धेरै भारतीय पर्यटक सीमा नाकामै गाडी छोडेर नेपाल आउने गरेका थिए।

अब सीमामा ट्राफिक प्रहरीले स्वागत गर्ने योजना बनाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरिक्षक प्रकास केसीले बताए। उनले पर्यटकको सहजताका लागी विशेष सुरक्षा व्यवस्था बढाईएको बताए।  
 

भुवन भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस