बझाङमा गाउँको सिंहदरबार खानेपानीको आपूर्ती गर्न असफल, छुटेन पिठ्युको जर्किन
पानीका कुवा (नाउला) सुक्न थालेपछि विकट गाउँमा खाने पानीको समस्या भएको छ। मुहान सुक्न थालेपछि स्थानीय खोलाको फोहोर पानी उपभोग गर्न बाध्य भएका छन्। जिल्लाको केदारस्यु गाउँपालिका ७ भामचौरका स्थानियले हिउँद लागेसँगै पानीका कुवा (नाउला) सुकेपछि समस्या भएको बताएका छन्।
गाउँपालिकाबासी एक घण्टाको दुरीमा रहेको खोलाको दुषित पानी पिउन बाध्य छन्। केदारस्यु ७ का जनक बहादुर धामीले भने, ‘गाउँमा खानेपानीका धारा निर्माण भएका छैनन्, पुस्तौँ पुराना नाउलामा निर्भर भएपनि जथाभावी खनिएका सडकले मुहान नै बन्द भएका छन्, घण्टौँ हिडेर पिठ्युमा फोहोर पानी बोकेर खानुपर्ने बाध्यता छ।’
पञ्चायत कालदेखि खानेपानीका लागि जिल्ला पञ्चायत हुदै डिभिजन खानेपानी कार्यालय चैनपुर, गाउँपालिका र वडामा समेत निबेदन दिदै आएपनि माग पूरा नभएको उनको गुनासो छ। पानी अभावकै कारण २३ परिवारको विजोग भएको उनी बताउँछन्।
स्थानीयले पशु चौपायालाई पानी खुवाउनेदेखी लुगा कपडा छाउपडी र सुत्केरी महिलाले पनि खोलाकै पानी उपभोग गर्नुपर्ने बाध्यता छ। खोलाको पानी पनी सफा हुदैन् उनले भनिन्, ‘दिशा पिसाब पनि खोलामै गर्छन्। खोलाकै पानी पिउनुपर्छ।’ झण्डै एक घण्टाको दुरीमा रहेको खोलाबाट पानी ल्याउन मात्र दैनिक तीन घण्टा चाहिने गरेको गुनासो गरिएको छ।
चुनावका बेला राजनीतिक पार्टीले खानेपानी ल्याउने भन्दै प्रचार गर्ने तर चुनाव जितेपछि स्थानीय तहदेखि संघिय सरकारका प्रतिनिधीले बजेट समेत विनीयोजन नगरेको स्थानीयको भनाई छ। वडा अध्यक्ष पनि अर्को गाउँका भएकाले आफूहरुको समस्या नबुझेको आरोप लगाईएको छ। तर वडा नम्बर ७ का अध्यक्ष प्रेमबहादुर धामीले वडा कार्यालयसँग ठुलो बजेट नहुँदा समस्या भएको बताए।
उनले गाँउपालीकामा योजना माग गर्दा सुनवाई नै नभएको बताए। केदारस्यु गाँउपालीकाका अध्यक्ष ईन्द्रबहादुर भण्डारीले खानेपानीलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको दावी गरे। उनले एक घर एक धाराको अवधारण सहित गाँउपालिकाले खानेपानी, शिक्षा र स्वास्थ्यमा जोड दिएको जिकिर गर्दै सबै टोल र गाँउमा खानेपानी पुगाउने जनाए।