सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको जोरायलमा डोजर प्रयोग गरी जथाभावी सडक खनिदै

 जोरायल गाउँपालिकाले वातावरणीय प्रभाव मूल्याङकन नगरी डोजर चलाएको जोरायल गडसेरा सडक
जोरायल गाउँपालिकाले वातावरणीय प्रभाव मूल्याङकन नगरी डोजर चलाएको जोरायल गडसेरा सडक
२०७६ पुष ६, ०७:३९ जनक विष्ट

डोटीमा स्थानीय तहले योजना कार्यान्वयन पूर्व अनिवार्य अपनाउनुपर्ने आवश्यक प्रक्रिया पूरा नगरी सडक निर्माण गरिरहेका छन्। योजना कार्यान्वयन पूर्व गर्नुपर्ने वातावरणीय प्रभाव मूल्याङकन र विस्तृत परियोजना प्रतिवेदन बिना नै जथाभावी डोजर प्रयोग गरी जथाभावी सडक खनिरहेको पाईएको हो।

जिल्लाको जोरायल गाउँपालिकामा स्थानीय प्रशासन र डिभिजन वन कार्यालयको निर्देशनको अवज्ञा गर्दै सडक निर्माणका नाममा जथाभावी डोजर चलाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत स्थानी तहमा जथाभावी डोजर प्रयोग गरी सडक निर्माण गर्ने क्रम बढेको भन्दै अनिवार्य रुपमा वातावरणीय प्रभाव मूल्याङकन र विस्तृत परियोजना प्रतिवेदन बनाउन निर्देशन दिएका बेला जोरायलमा भने अटेरी गरिएको हो।

गाउँपालिकाले वातावरणीय प्रभाव मूल्याङकन र विस्तृत परियोजना प्रतिवेदन नबनाई आफूखुसी सडक खनिरहेका छन्। त्यसरी खनिएका सडकले भविष्यमा बाढि पहिरो, भूक्षय लगायतका प्राकृतिक प्रकोप फैलिने भन्दै चिन्ता व्यक्त गरिएको छ।

सामाजिक युवा मञ्चका अध्यक्ष समेत रहेका जोरायलका स्थानीय प्रशान्त ओलीले जथाभावी खनिएका सडकले वनजंगलको बिनासका कारण प्राकृतिक प्रकोप बाढि, पहिरो तथा भु–क्षय हुने भएपनि गाउँपालिकाले मनोमानी गरेको आरोप लगाए।

उनले जनप्रतिनिधिले पनि यो कुरा बुझ्न नसकेका कारण औपचारिक रुपमा ध्यानाकर्षण गराउने कार्यक्रम पनि रहेको दिनेश खबरलाई बताए। गाउँपालिकाले अहिले वडा नम्बर ४ को बाझिलेक ऐतोडा सडक, वडा नम्बर ३ र ५ को  जोरायल गडसेरा सडक र वडा नम्बर ३ को अल्याडी शिखर सडकमा वातावारणीय प्रभाव मूल्याङकन र विस्तृत परियोजना प्रतिवेदन बिना नै डोजर चलाएको स्थानीयले बताएका छन्।

तर गाउँपालिकाले भने पूराना सडक बाहेक अहिले निर्माण भईरहेका सडकमा डोजर नचलाईएको दावी गरेको छ। सबै नयाँ सडकको वातावरणीय प्रभाव मूल्याङकन लगायतका प्रक्रिया पूरा गर्ने चरणमै रहेको गाउँपालिकाका इन्जिनीयर नरेशकुमार भट्टले् दावी गरे।

उनले कुनै पनि नयाँ सडकमा डोजरको प्रयोग नगरिएको जिकिर गरेका छन्। तर डोटीमा जोरायल गाउँपालिका मात्र नभई अन्य स्थानीय तहले पनि कानूनी प्रक्रिया पूरा नगरी धमाधम जथाभावी सडक खन्ने काम गरिरहेका छन्। जथाभावी सडक निर्माण भईरहेको जनगुनासाकै आधारमा डिभिजन वन कार्यालय डोटीले स्थानीय तहलाई अनिवार्य रुपमा वातावरणीय प्रभाव मूल्याङकन गर्न निर्देशन दिएको थियो।

डिभिजन वन कार्यालयका प्रमुख शम्भु प्रसाद तिवारीले यसअघि सबै स्थानीय तहलाई परिपत्र गर्दै वातावरणीय प्रभाव मूल्याङ्कन लगायतका प्रक्रिया पूरा गरी सडक निर्माण गर्न निर्देशन दिएको भएपनि अटेरी गरिएको बताए। उनले अहिले पनि जोरायल गाउँपालिका लगायतका क्षेत्रमा प्रक्रिया पूरा नगरी धमाधम सडक खन्ने काम भईरहेको गुनासो आएकाले फेरी सचेत गराईने उल्लेख गरे।

 स्थानीय तहमा जनप्रतिनिधीले भने वातावरणीय प्रभाव मूल्याङकन लगायतका प्रक्रिया पूरा गर्ने क्रममा रहेको दावी गर्र्दै  आएका छन्। जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गाप्रसाद ओझाले योजना कार्यान्वयन पूर्व अपनाउनुपर्ने सबै प्रक्रिया पुगाएरै सडक निर्माण गरिने दावी गरे तर विकास हेर्न नसक्नेहरुले विरोधका नाममा विरोध गरिरहेको ओझाको आरोप थियो। 
  
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस