सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा खानेपानीको हाहाकार : १५ लाखको पाइप घरैमा थन्कियो

२०७६ पुष ५, ०५:२० डीवि विष्ट

स्थानीय सरकारले खानेपानीको उचित व्यवस्थापन गर्न नसक्दा जिल्लाको केदार स्युँ गाउँपालिकाका सर्वसाधारण चरम समस्यामा परेका छन्। झण्डै २४ वर्ष अगाडि निर्माण भएको खानेपानीको मर्मत सम्भार नहुँदा पालिकाको वडा नम्बर(६, त्याडीगाउँका स्थानीय बासिन्दाहरुले सास्ती झेल्नुपरेको हो। पानी वितरण प्रणालीको व्यवस्थापन र स्रोत नहुँदा त्याडीगाउँमा हाहाकार मच्चिएको हो। अहिले, गाउँभन्दा झण्डै १ किलोमिटर टाढा रहेको कुवा र खोलाको पानी पिउनुपर्ने बाध्यता यहाँका स्थानीय बासिन्दाको रहेको छ। उनीहरुले आकाशबाट झरेको पानी ड्रममा जम्मा गरी प्रयोग गर्दै आएका छन्। स–साना बालबालिका र महिलाहरुले बोकेकै भरमा ठूलठूला ड्रम भरेर आफ्नो दैनिकी चलाउँदै आएका छन्। 

 

सरसफाइ गर्न र चर्पीमा राख्न समेत पानी नभएको भन्दै स्थानीय लक्ष्मी गुर्धामीले भन्छन्, ‘घरायसी काम गर्नदेखि पशु चौपायालाई पानी खुवाउन समेत समस्या परेको छ। स्थानीय सरकार आएपछि समस्याबाट छुटकारा पाउने आशा थियो। तर, समस्याको सुनुवाइसम्म भएको छैन।’ पानीको अभावले स–साना बालबालिका र महिलाहरु बढि समस्यामा परेको उनले बताए। अर्का स्थानीय बासी प्यारु बोहोराले भन्नुभयो, ‘मुहानमा पर्याप्त पानी भए पनि पाइपमा नआएको गुनासो गरे। गाउँलेहरुले प्रयास गरे पनि मर्मत गर्न नसकेको भन्दै स्थानीय सरकारले मर्मतका लागि रकम खर्च गर्नसके खानेपानी प्राप्त हुने उनको  बुझाइ छ।’

 

‘गाउँमा झण्डै १० वटा धाराहरु छन्। तर, कुनै पनि धारामा पानी आउदैन। एक दुई ओटा धाराबाट पानीका थोपामात्रै झर्छन्। वडा अध्यक्षले समेत यस विषयमा खासै चासो दिएका छैनन्’, उनले भने। नजिकै रहेको विद्यालयमा भने आईडीएस नेपाल नामक संस्थाले थोपे धारा जडान गरिदिएपछि  खानेपानीको समस्या समाधान भएको उनले बताए। नवज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक दिपक बोहोराले खानेपानीका लागि भन्दै गएको वर्ष वडाले झण्डै १५ लाख रुपैयाँ विनियोजन गरेको बताए। वडाले पाइप खरिद गरेर वितरण गरेको भए पनि अधिकांश व्यक्तिहरुले घरमा नै पाइप राखेका छन्। समस्या समाधानका लागि भन्दा पनि व्यक्तिहरुलाई पाइप खरिद गरी वितरण गरेकै कारण खानेपानीको समस्या यथावत रहेको बोहोराको भनाइ छ।

 

वडाले दलित समुदायका लागि भन्दै ८ लाख रुपैयाँ बराबरको पाइप वितरण गरेको थियो। तर, अहिले दलित समुदाय नै सबैभन्दा बढि खानेपानीको समस्यामा परेका छन्। यस्तै, गैरदलित समुदायका व्यक्तिहरुले करिब ६ लाख रुपैयाँ बराबरको पाइप पाएका छन्। यसरी उपलब्ध भएको पाइपहरु खानेपानीका लागि प्रयोग नगरी अधिकांशले घरमा नै थन्काएर राखेको स्थानीय बासिन्दाले बताएका छन्। यता, केदार स्युँ गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारीले भने, खानेपानीको समस्या समाधानका लागि आफू तत्काल लागिपर्ने जवाफ दिएका छन्। गाउँपालिका एक घर, एक धाराको अवधारणा सहित अघि बढेको बताउँदै उनले घरैपिच्छे उपलब्ध गराउन नसके पनि एउटा टोलका लागि एक धारा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस