सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली मालपोतमा मनपरी: कर्मचारी साढे ११ बजे सम्म कार्यालय पुग्दैनन्

२०७६ मंसिर ३०, १२:५२ कमल सावद

कार्यालय समय कति बजे हो ? तपाई हामी सबैलाई थाहा भएकै कुरा हो बिहान १० बजे। तर कैलाली मालपोतका कर्मचारी भने बिहान साढे ११ बजे सम्म पनि कार्यालय नपुग्ने गरेको भेटिएको छ।

सोमबार बिहान तारानगरका सीपी जोशी सेवा लिन साढे ९ बजे नै मालपोत कार्यालय परिसर पुगेका थिए। काम विशेषले उनीसँगै पुगेका अन्य सेवाग्राही पनि बिहान ९ बजेदेखि नै कर्मचारीको प्रतिक्षामा बसेका थिए। तर घडीमा बिहान १० बजेर ३० मिनेट जादा पनि त्यहाँ कर्मचारी आईपुगेका थिएनन्।

यो क्रम विगत एक सातादेखि चलिरहेको गुनासो उनीहरुको थियो। साढे १० सम्म पनि कर्मचारी नआएको सूचना दिनेश खबरलाई आएपछि हामी जिल्ला मालपोत कार्यालय पुगेका थियाँै। तर हामी त्यहाँ पुग्दा पनि सबै कर्मचारी आईसकेका थिएनन्। कार्यालय प्रमुख प्रेमसिंह कुँवर नै साढे ११ बज्दा समेत पुगेका थिएनन्।

कर्यालय प्रमुख नै समयमा नपुगेपछि अन्य फाँटका केही कर्मचारी समेत नपुगेपछि सेवाग्राही हैरान भएका थिए। कर्मचारी कार्यालयमा नभेटिएपछि जोशीले आक्रोशित हुदै भने, ‘एक हप्ता हुदाँ पनि काम नहुने, फेरी साढे ११ बजेसम्म नआउने। उनीहरुलाई दिउँसोको खाजाका लागि २ घण्टा समय चाहिने। जनताको काम चै कहिले गर्छन ? सरकारले जनताको काम गर्न पठाएको हो कि, मोज मस्तीका लागि।’ आईतबार पनि मालपोत कार्यालय आएका जोशीलाई कर्मचारीले हपाडेका थिए। ढिलोगरी कार्यालय पुगेका कर्मचारीहरु पनि गफमै व्यस्त भएपछि उनले काम गर्न आग्रह गरे।

तर उल्टै ती कर्मचारीले उनलाई हप्काए। धनगढी तारानगरका तिलक मल्ल पनि साढे ११ बजे सम्म कर्मचारी खोज्दै थिए। उनी कोठा नम्बर ८ मा पुगे। त्यहाँ कर्मचारी थिएनन्। अन्य फाँटमा कर्मचारी खोज्न थालेका मल्लले हैरानी खेप्नुपरेका गुनासो गरे।

तर मालपोत कार्यालयमा साढे ११ बजे सम्म कर्मचारी नपुगेका कर्मचारीको विवरण माग गर्दा प्रशासन फाँटले सूचना उपलब्ध गराउन अटेर गरेको छ। उल्टै त्यहाँ कार्यरत कार्यालय प्रमुख आएको भन्दै दिनेश खबरलाई झुठो सूचना दिए। तर कार्यालय प्रमुख प्रेमसिँह कुँवर साढे ११ बजे सम्म कार्यालयमा हाजिर भएका थिएनन्।

मालपोत कार्यालयका एक कर्मचारीले भने, ‘कुवँर सरको घर कञ्चनपुर हो। आउदै हुनुहुन्छ होला। उहाँलाई नै सम्पर्क गर्नु।’ कार्यालय प्रमुख कँुवर ११ बजे कार्यालय आएको बताउछन्। ‘साढे ११ बजे सम्म हामी कार्यालयमै थियौ।’ दिनेश खबरसंग कुँवरले भने। अन्य कर्मचारी पनि समयमै कर्मचारी नपुगेको कुरा गलत भएको दावी गरे। तर कहिलेकही विशेष कारणबस कुनै कर्मचारी मात्र साढे १० बजे सम्म नपुगेको हुनसक्ने भन्दै कुँवरले भने, ‘कर्मचारीहरु बिहान १० बजे नै कार्यालयमा पुग्छन्।’

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस