सुदूर नेपाललाई विश्वसँग जोड्दै

अधिकार रक्षाका सवाललाई व्यवहार र आचरणमा प्रदर्शन गर्नु आवश्यक : मुख्यमन्त्री राउत

२०७६ मंसिर २५, ०६:२७

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मानव अधिकारको रक्षाका सवाललाई व्यवहार र आचरणमा प्रदर्शन गर्नुपर्ने खाँचो औँल्याएका छन्। एकहत्तरौँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं २ कार्यालयद्वारा मंगलवार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री राउतले आफ्नो अधिकारको संरक्षण गर्दा अरूको अधिकार हनन गर्न नहुने कर्तव्य पनि निर्वाह गर्नु आवश्यक छ भन्दै उनले आफू आनन्दित हुने र अरूलाई दुःख पु¥याउने गतिविधि गर्न हुँदैन भने।

मुख्यमन्त्री राउतले सभ्य समाज, समृद्ध राष्ट्र र आदर्शमुखी आचरण सन्दर्भमा मानव अधिकारको सवाल महत्वपूर्ण रहेकाले यसप्रति सबै सजग हुनु जरुरी भएको बताए। उनले अधिकारको प्रयोग गर्दा गम्भीर हुनुपर्नेमा जोड दिँदै यसको संरक्षण आ–आफ्नो स्तरबाट गर्नुपर्ने धारणा राखे।

   
प्रदेशका मुख्य सचिव रामकृष्ण सुवेदीले मानव अधिकारको रक्षाका बारेमा सरकारमाथि मात्र आश्रित नभई आफू र आफ्नो घरलाई भुल्न नहुने बताए। धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल जिल्लामा महिला र बालबालिकाको अधिकार हनन, हिंसा, फिरौती, बलात्कार, हिंसा, यौनजन्य, दाइजोसँग सम्बन्धित घटना अधिक हुने गरेको बताए।

आयोगका कार्यालय प्रमुख  वीरबहादुर बुढामगरको अध्यक्षतामा भएको सो कार्यक्रममा एडभोकेसी फोरमका राजकुमार महासेठ, इन्सेकका राजु पासवान र थर्ड एलाइन्सका विनोद महरा तथा मानव अधिकार महाभेलाका संयोजक धीरेन्द्रबहादुर सिंहले प्रदेश नम्बर २ मा गैरन्यायिक हत्याका घटना बर्सेनी बढ्दै गएकोप्रति ध्यानाकर्षण गराए। रासस
 

कमेन्ट लोड गर्नुस