सुदूर नेपाललाई विश्वसँग जोड्दै

तनाबग्रस्त कोहलपुर : प्रहरीले गोली चलाउंदा २४ जना घाइते, प्रशासनद्वारा कर्फ्यू जारी

२०७६ मंसिर २२, ०३:२८ खबर संवाददाता

ट्रकले बालिकालाई ठक्कर दिएपछि तनावग्रस्त बनेको कोहलपुरमा प्रहरीले गोली चलाएको छ। विद्यार्थीबाट शुरु भएको आन्दोलनले उग्ररुप लिएपछि भीडलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएको हो। प्रहरीले चलाएको रबर बुलेटबाट २४ जना आन्दोलनकारी घाइते भएका छन्। आक्रोशित भीडले इलाका प्रहरी कार्यालय कोहलपुरको क्यान्टिन तोडफोड गरेका छन्।

जिल्लाबाट बोलाइएको ठूलो संख्याका प्रहरीले भीडलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ। आक्रोशित भीडले प्रहरीलाई ढुंगा प्रहार गरेका छन्। कोहलपुर तनावग्रस्त बनेको छ। जिल्ला सुरक्षा समितिले कोहलपुरमा कर्फ्यू लगाएको छ। ‘अब केहीबेरसम्म पनि तितरबितर भएन भने कर्फ्यू लाग्छ, सुरक्षा समितिका एक सदस्यले भने, ‘अहिले भीडलाई तितरबितर गर्ने प्रयास भइरहेको छ।’

विहान ९ः५० बजे ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिंदा कोहलपुरकी १२ वर्षीया प्रकृति चन्द गम्भीर घाइते भएपछि आक्रोशित विद्यार्थीले ट्रक जलाइदिएका थिए। त्यसपछि प्रहरीसँग झडप भएको थियो। लाठी चार्ज भएपछि विद्यार्थी अझ उग्र भएका थिए।
प्रहरीले भीडलाई नियन्त्रण गर्न दर्जनौ हवाइफायरका साथै आन्दोलनकारीलाई ताकेर रबरको गोली हानेको छ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी चन्दको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। उनलाई रेफर गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस