सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन वर्षभित्र सुदूरपश्चिमका सबै नागरिक विद्युतको पहुँचमा हुने

२०७६ मंसिर २०, ०१:३९ कमल सावद

तीन आर्थिक वर्ष भित्र सुदूरपश्चिम प्रदेशका सबै जनतालाई विद्युत सेवाको पहुचमा ल्याउने प्राधिकरणले दावी गरेको छ। २८ लाख जनसंख्याका लागि आवश्यक पर्ने विद्युतका भौतिक संरचना निर्माण भइरहेकाले आर्थिक वर्ष २०७८/०७९ भित्र सबैको पहुचमा विद्युत सेवा पुगाउने लक्ष्य प्राधिकरणको छ। अहिले प्रदेशका पहाडी जिल्लाका ग्रामीण क्षेत्रमा राष्ट्रिय प्रशारण लाईन विस्तार र १० बढी विद्युत सव–स्टेशन निर्माणको काम भइरहेको छ। आर्थिक वर्ष २०७२/०७३ मा ठेक्का सम्झौता भए अनुसार राष्ट्रिय प्रशारण लाईन विस्तारको कामले पूर्णता पाए प्रदेशका सबै नागरिक विद्युतको पहुचमा आउने प्राधिकरणले बताएको हो।

अहिले प्रदेशका नौ वटै जिल्लामा सव–स्टेशन निर्माण र प्रसारण लाईन विस्तारको काम जारी रहेकाले अगामी तीन वर्ष भित्र सबै नागरिक विद्यतुको पहुँच भित्र नेपाल विद्युत प्राधिकरण, सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख शतिसकुमार कर्णले बताए। प्रदेशको बझाङमा ८० किलोमिटर राष्ट्रिय प्रशारण लाईन विस्तार र चैनपुर र बागथलामा सव–स्टेसन निर्माणको काम जारी रहेको उनले जनाए।

जिल्लामा आर्थिक वर्ष २०७२/०७३ मा  ८ करोड ६८ लाखमा ६६ किलोमिटर, आर्थिक वर्ष २०७३/०७४ मा  एक करोड ४४ लाखमा २० किलोमिटर विद्युत प्रशारण लाईन विस्तार र २०७४/०७५ मा पाँच करोड ६८ लाखमा चैनपुरमा सव–स्टेसन तथा सोही आर्थिक वर्षमा पाँच करोड ३९ लाखमा बागथलामा सव–स्टेसन निर्माणको काम अहिले पनि जारी छ। बाजुरामा पाँच करोड  ७४ लाख लागतको ५५ किलोमिटर प्रसारणलाईन विस्तार र  बागथलामा चार करोड ४४ लाखको सव–स्टेसन निर्माणको भइरहेको छ।

आर्थिक वर्ष २०७३/०७४ मा सव–स्टेसन निर्माणको निर्माण सम्झौता भएको हो भने २०७४/०७५ मा लाईन विस्तारको काम सुरु भएको हो। दार्चुलामा बलाच–खलंगा लाईन विस्तार र सव–स्टेसन निर्माणको काम भइरहेको छ। ९८ लाख ९९ हजारमा लाईन विस्तार र ६ करोड १५ लाखमा सव–स्टेसन निर्माणको आर्थिक वर्ष २०७३/०७४ मा सम्झौता भएको हो। डोटीमा दुई करोड २५ लाखको लागतको १९ किलोमिटर फासेबजर–चमराचौतारा तथा एक करोड २२ लाख लागतको १० किलोमिटर मौवा प्रसारण लाईन निर्माणको कार्य जारी छ।  

६ करोडको ३२ लाख र ६ करोड १३ लाखका दुई सव–स्टेसनको पनि निर्माण कार्य डोटीमा जारीछ।  डडेल्धुरामा एक सव–स्टेसन, अछाममा ४३ किलोमिटर लाईन विस्तार र एक सव–स्टेसन, कैलालीमा १५ किलोमिटर प्रशारण लाईन विस्तारको काम जारी छ।

कञ्चनपुरमा १५ किलोमिटर ३३ केभी लाईन विस्तार र एक सव–स्टेसन निर्माण, बैतडी मेलौलीमा २४ किलोमिटर प्रशारण लाईन विस्तार र एक सव स्टेसन निर्माणको काम निर्माण सम्झौताको प्रक्रियामा छ। बाजुरा, बैतडी र दार्चुलामा पनि थप लाईन विस्तार र सव–स्टेसन निर्माणको काम प्रक्रियामा छन्।

सुदूरपश्चिममा निर्माण थालिएका विद्युत आयोजनाहरुको काम तीन आर्थिक वर्ष भित्र पूर्ण भए प्रदेशका सबै नागरिक विद्युतको पहुँचमा हुने प्राधिकरणको दावी छ। प्रदेश सरकारले यसै बर्ष भित्रै उज्यालो प्रदेश बनाउने बजेट भाषणमै घोषणा गरिसकेको छ। तर सुदूरपश्चिम प्रदेशमा अहिले पनि ५५ प्रतिशत जनता विद्युतको पहुँच बाहिर छन्। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस