सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कर्मचारीको मिलोमतोमा औषधी र उपकरण खरीदमा आर्थिक चलखेल बढ्दै

सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिदै
सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिदै
२०७६ मंसिर १८, ०७:१३ नवराज पनेरु

गत आर्थिक बर्षमा सुदूरपश्चिम प्रदेशको सामाजिका विकास मन्त्रालयले सेती प्रादेशिक अस्पतालका लागि अक्सिजन उत्पादन गर्ने मेसिन (अक्सिजन जेनेरेटर प्लान्ट) खरिद गर्न टेण्डर आह्वान ग¥यो। टेण्डर कमिसनको चलखेलमा धनगढीको डिबी मेडिसिनलाई दिन खोजिएको भन्दै आपुर्तीकर्ता बिज्ञान अर्यालले सर्वोच्चमा उजुरी हाले र अक्सिजन प्लान्ट खरिदको प्रक्रिया रोकियो। गत आर्थिक बर्षको झण्डै २ करोड बजेट फ्रिज गयो भने अहिले सम्म अक्सिजन प्लान्ट सञ्चालनमा आएको छैन्।

साउन २ गते सर्वोच्चले उजुरीकर्ताले माग गरे अनुसार अन्तरिम आदेश नदिएपछि फेरी सोही टेण्डर प्रक्रियालाई अगाडी बढाएर डिबी मेडिसिनलाई खरिदको जिम्मा दिईयो र अहिले जडानको कार्य भईरहेको छ। यद्यपी अहिले पनि प्रक्रिया विपरित ठेक्का सम्झौता गरेको भन्दै विरोध भईरहेको छ। यो एउटा उदाहरण मात्रै हो। पछिल्लो केही समययता प्रदेशको सामाजिका विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय र विभिन्न अस्पतालले औषधी र उपकरण खरिदका लागि खोलेका अधिकासं टेण्डर विवादमा तानिएका छन्।

‘औषधी र उपकरणहरुका विभिन्न टेण्डरहरुमा फरक फरक प्रावधान राखेर अनिमितता गर्न खोजिएपछि खरिद प्रक्रिया विवादीत बन्दै गएको हो,’ तिवारी मेडिसिनका सञ्चालक दिपेन्द्र तिवारीले भने, ‘कारोवार बढी भएको हुनुपर्ने लगायतका विभिन्न बुँदाहरु राखेर ईच्छाएको फर्म र व्यक्तीलाई दिने गरी व्यवस्था मिलाईएको हुन्छ।’ उनले टेण्डर स्वीकृतीमा कर्मचारीको मिलोमतो हुने भन्दै आशंका व्यक्त गरे। 

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले पहिलो पटक औषधी र उपकरण खरीद गर्न आह्वान गरेको टेण्डर स्वीकृतिमा पनि आर्थिक चलखेल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। औषधी तथा उपकरण खरिदको जिम्मा चाहेको आपुर्तिकर्तालाई दिनका लागि वस्तु अनुसार नदिएर प्याकेजमा दिएर मिलोमतो गर्न खोजिएको आरोप लागेको थियो।

अहिले त विभिन्न टेण्डर हत्याउनका लागि किर्ते कागजात बनाएको समेत फेला परेको छ। धनगढकै अमित मेडिसिनले विभिन्न टेण्डर पार्नका लागि कर चुक्ता प्रमाणपत्र किर्ते गरेको भेटिएपछि सञ्चालकलाई पक्राउ गर्न अदालतले अनुमती समेत दिईसकेको छ।

सुदूरपश्चिम प्रदेशमा अधिकासं औषधी र उपकरण खरिदको टेण्डर तीन वटा आपुर्तीकर्ताले पाउँदै आएका छन्। डिबी मेडिसिन, अमित मेडिसिन र ड्रग सेन्टरले बर्षाैदेखि टेण्डर पाउँदै आएका छन्। तीन वटै आपुर्तीकर्ताको सञ्चालक समूह भने एउटै हो।

मन्त्रालय, निर्देशनालय र अस्पतालका स्टोर तथा लेखाका कर्मचारीले आपुर्तीकर्तासंग मिलोमतो गर्दै आर्थिक चलखेलका आधारमा टेण्डर स्वीकृत गर्दै आएको आरोप लाग्दै आएको छ। तर डिबी मेडिसिनका सञ्चालक दुस्यन्त बस्नेत भने टेण्डर पाउन नसकेपछि आपुर्तीकर्ताहरुले गलत आरोप लगाएको बताए। उनले आफ्नो फर्मले बर्षाैदेखि टेण्डर पाउँदै आएको स्विकार गरेपनि सबै मापदण्ड पुगाएर टेण्डर पाईरहेको बताए। 

कतिपय आपुर्तिकर्ताले प्याकेजमा महँगो पर्ने र वस्तु अनुसार गरेमा सरकारी रकम बचत हुने भन्दै वस्तु अनुसार गर्नका लागि लिखित रुपमा समेत मन्त्रालय र अन्य निकायलाई अनुरोध गर्दै आएका छन्। तर मन्त्रालय सहित स्वास्थ्य निर्देशनालय र अस्पतालहरुले भने वेवास्ता गरिदिने गरेका छन्।

‘औषधी र उपकरण खरिदको टेण्डरमा कुनै चलखेल भएको छैन्,’ प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले भने, ‘सवै बिधी प्रक्रिया अनुसार नै भएको छ। एक पटक आरोपीहरुले सार्वजनिक खरिद ऐन अध्ययन गरे हुन्छ।’ उनले खरिद प्रक्रियामा आर्थिक चलखेल हुने गरेको भन्दै लगाईएको आरोप गलत भएको दावी गरे। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस