सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाम दरबार पुनःनिर्माणको काम ११ वर्षमा पनि पूरा भएन

२०७६ मंसिर १६, ०२:२१ कमल सावद

वि.स २०५८ सालमा तत्कालिन माओवादीको आक्रमणबाट ध्वस्त भएको अछाम दरवार पुनः निर्माणको काम ११ वर्ष सम्म पूरा भएको छैन्। निर्माण व्यवसायीको लापरवाहीका कारण २०६५ सालमा पुनः निर्माण थालिएको दरबारको कामले अझै पूर्णता नपाएको हो।

दरबार पुनःनिर्माणको सम्झौता गरेका निर्माण कम्पनीहरुले सात वर्षदेखि काम ठप्प पारेकामा अहिले भने सुचारु गरेका छन्। तर कामलाई तिव्रता दिन आनाकानी गरिएको छ। दरबार पुनःनिर्माणका लागि २०६५ असार २४ गते निर्माण कम्पनीहरुसंग सम्झौता भएको थियो।

दुई करोड २५ लाख ७३ हजारमा राजेन्द्र–साउँद–बडिमालिका–कुवंर–तुल्सी–दुर्गा जेभीसंग २०६७ मा निर्माण सक्ने गरि निर्माण सम्झौता भएको थियो। सम्झौता भएको ११ वर्ष हुदाँ पनि निर्माण व्यवसायीले दरबार पुनः निर्माणको कामलाई तिव्रता दिएका छैनन्।

‘संयुक्त ठेक्कामा काम भएकाले जयराज साउँको साउँद निर्माण सेवाले काम थालेको थियो,’ राजेन्द्र निर्माण सेवाका ईन्जिनियर रोशन भट्टले भने, ‘उनीहरुसंग आयोजना कार्यालयले छलफल गगर्नुपर्छ। उनीहरुले निर्माण नगर्ने भए हामी गर्छाै।’

निर्माणको समय अवधि पटक–पटक थापिएको छ। तर गत असार देखि दरबार पुनःनिर्माणको समय अवधि पनि थपिएको छैन्। ‘दरबारको पुनःनिर्माणको काम सकिएको छैन्,’ संघीय शहरी विकास तथा भवन निर्माण आयोजना डोटीका प्रमुख दिपक श्रेष्ठले भने, ‘निर्माण कम्पनीहरुलाई सम्पर्क तयारीमा छौ। चालु आर्थिक वर्षमा दरबार पुनः निर्माणको काम पूर्ण हुन्छ।’

अहिले दरवारको भौतिक प्रगति ८० प्रतिशतको हाराहारीमा रहेको दावी गरिएको छ। दरबारलाई पूरानै स्वरुपमा पुनःनिर्माण थालिएकाले निर्माण सामाग्री पाउन समस्या भएको निर्माण व्यवसायीको दावी छ। तत्कालिन जिल्ला प्रशासन कार्यालय, जिल्ला पञ्चायत, मालपोत, जिल्ला अदालत लगायतका कार्यालय रहेको समयमा दरवारमा माओवादीले आक्रमण गरेको थियो। ध्वस्त भएको दरबार पहिलेको अवस्थामा ल्याउन ठुलो खर्च गरिएको छ। 

माओवादी आक्रमणपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी मोहनसिँह खत्री, क्याप्टेन सहित ५३ सेना, ५९ प्रहरी, २ निजामती कर्मचारी र ८ सर्वसाधारण गरी १ सय २२ जनाको ज्यान गएको थियो । दरबार पुनः निर्माण भएमा भ्रमण वर्ष २०२० मा जिल्लाकै आर्कषक पर्यटकिय स्थलका रुपमा विकास गर्ने सकिने अपेक्षा गरिएको थियो। 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस