घाँणो भयो मंसिर
तीर्थराज भट्ट
कोही झ्याउँकुटी ! त बाबर पका, भन्छन् कोही भोज ख्वा,
यात्रा दूर छ जान भाइ रथको, सम्झेर चक्का सजा !
भन्दैछन् शुभचिन्तकै लगन नै, ल्याऔं जुराई कब ?
यो मंसीर अधीर थप्छ मनमा, के गर्ने होला अब ।
खेती लाउनु पर्छ रे समयमै, गोड्मेल झन् उत्तम ,
यो मौका अब रिक्त तिक्त नबना, भन्दै गए सज्जन ।
बा आमा पनि भन्दछन् यही कुरा, काका र काकी सब,
हाली कान बुजा लुकेर म बसूँ , मंसीर आयो अब ।।
भन्छिन् प्यार लिई प्रिया, "हजुरको, सामिप्यता पाइयोस् ।"
मेरो आँत दरारमा छ नबुझी, "छाती दरो चाहियोस् ।"
उब्जिन्छन् मनभाव 'ढुक्क रहनू', ओढेर पीताम्बर ।
साह्रै प्रेसर केसमा म रहँदा, घाणो बन्यो मंसिर ।।