सुदूर नेपाललाई विश्वसँग जोड्दै

लम्कीचुहा अस्पतालका निमित्त मेसुमाथि दुर्व्यवहारप्रति नेपाल चिकित्सक संघको आपत्ति

२०८३ असार १२, ०४:०१ खबर संवाददाता

धनगढीः नेपाल चिकित्सक संघले लम्कीचुहा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कमलेशप्रसाद यादवमाथि भएको दुर्व्यवहार, धम्की तथा उपचार सेवामा अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा लम्की नगरपालिकाकी मेयर सुशीला शाहीबाट सिंगो स्वास्थ्य क्षेत्रको अपमान हुने कार्य भएको उल्लेख गरिएको छ।

यस्तै, नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश (धनगढी शाखा) ले पनि उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघले बिरामीलाई सुरक्षित, गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार, धम्की, कुटपिट, मानसिक दबाब तथा उपचार सेवामा अवरोध सिर्जना गर्ने गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेको छ। यस्ता घटनाले स्वास्थ्यकर्मीको मनोबल कमजोर पार्नुका साथै समग्र स्वास्थ्य सेवा प्रणालीमा नकारात्मक असर पार्ने संघको ठहर छ।

धनगढी शाखाका अध्यक्ष डाक्टर खगेन्द्रराज भट्ट र सचिव डाक्टर मेराज आलम अन्सारीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत संघले सम्बन्धित निकाय र सरोकारवालासँग घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषी जो–कोही भए पनि प्रचलित कानुनअनुसार कडा कारबाही गर्न माग गरेको छ।

 

कमेन्ट लोड गर्नुस