बाजुराको आलु महोत्सव सम्पन्न, पाँच सय क्वीन्टल बिक्रि
स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्येश्यले बाजुरामा आयोजना गरिएको आलु महोत्सव सम्पन्न भएको छ। कत्तिक २० गतेदेखि सुरु भएको आलु महोत्सव शुक्रबार सम्पन्न भएको आयोजकले जनाएको छ। तीन दिन सम्म संञ्चालन भएको महोत्सवमा पाँच सय क्वीन्टल आलु विक्रि भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मिनप्रसाद जैशीले बताए।
‘महोत्सवमा एक हजार क्वीन्टल आलुको पहाड बनाएका थियौं’ जोशीले भने, ‘महोत्सव अवधीभर पाँच सय क्वीन्टल अर्थात् २५ लाख बराबरको आलु विक्रि भयो।’ यो संगै बाँकी रहेको पाँच सय क्वीन्टल पनि बिक्रि भईरहेको बताईएको छ। जसमा काठमाडौं र पोखराको लागि सय÷सय क्वीन्टल आलु पठाउने तयारी भईरहेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।
तर धनगढी अत्तरियामा मात्र एक दिनमा एक हजार क्वीन्टल आलु खपत हुने दावी गर्दै आएका यस क्षेत्रका थोक व्यापारीहरुले भने उक्त महोत्सवबाट ४० क्वीन्टल मात्रै आलु खरिद गरेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत जैशीले बताए। बाजुरामा धानको विकल्पको रुपमा आलुलाई चिनाउने भन्दै ढम्कने सहकारी संस्थाको आयोजना तथा कृषि ज्ञान केन्द्र बाजुरा र बडिमालिका नगरपालिकाको सहयोगमा महोत्सव आयोजना गरिएको हो।
यो सँगै आलुका २५ देखि ३० परिकार बनाएर महोत्सवमा प्रदर्शन समेत गरिएको थियो भने महोत्सवमा आलुवाली विकास कार्यक्रम खुमलटारका वरिष्ठ वैज्ञानिक एवंम् आलु विज्ञ डा. कालिकाप्रसाद उपाध्याय र कृषक विच आलु खेतीका वारेमा अन्तरक्रिया समेत गरिएको छ। प्रथम पटक आयोजना गरिएको आलु महोत्सवमा पाँच हजार भन्दा बढीले अवलोकन गरेको दावी आयोजकले गरेको छ।