सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बाख्रामा पीपीआर रोगको महामारी, तत्काल खरिद बिक्रि नगर्न आग्रह

२०७६ कार्तिक २२, १२:१८ खबर संवाददाता

कैलालीको लम्कीचुहा नगरपालिका क्षेत्रमा बाख्रामा पीपीआर रोगको संक्रमण भएको पाईएको छ। लम्कीचुहा नगरपालिका वडा नम्बर ३ को चिसापानी क्षेत्रमा बाख्रामा पीपीआर महामारीको रुपमा देखा परेको पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगरका प्रमुख पानसिंह ठगुन्नाले जानकारी दिए।

ठगुन्नाले चिसापानीमा १० वटा बाख्रा मरेपछि नमूना परिक्षण गर्दा पीपीआरको महामारी फैलिएको पाईएकाले सचेत रहन आग्रह गरेका छन्। उनले पीपीआरको महामारी फैलिएमा आसपासका क्षेत्रमा रहेका बाख्रा नै सखाप पारिदिने भएकाले सचेत बन्न किसानलाई आग्रह गरे।

तत्काल चिसापानी क्षेत्रमा बाख्राको खरिदबिक्रि पनि नगर्न पशु सेवा विज्ञ केन्द्रले अपिल गरेको छ। अहिले वरपरका बाख्रामा भ्याक्सीन लगाउने काम चलिरहेकाले महामारी नियन्त्रणमा ल्याउने प्रयास भईरहेको विज्ञ केन्द्र प्रमुख  ठगुन्नाले दिनेश खबरलाई जानकारी दिए।

पीपीआर रोग लागेका भेडाबाख्रामा पखाला लाग्ने, मुखमा घाउ हुने, मुखमा चोकरदले जस्तो देखिने, एकै गोलका धेरै भेडा मर्ने, भेडाबाख्रामा ज्वरो आउने, नाकबाट सिङ्गान बग्ने, आँशु फाल्नेजस्ता लक्षण देखा पर्छन्।

पीपीआर भाइरसको सङ्क्रमणबाट बाख्रामा लाग्ने एक प्रकार सङ्क्रमक रोग हो। यसको रोकथामका लागि पीपीआर विरुद्धको खोप एकमात्र उपाय भएको पशु चिकित्सकले बताउदै आएका छन्। 

कमेन्ट लोड गर्नुस