सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिमाल आरोहण अनुमतिको रोयल्टी साढे ६ करोड

२०७६ कार्तिक २२, ०७:२९ खबर संवाददाता

शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट अहिलेसम्म  ६ करोड ४० लाख ८८ हजार ८४ रोयल्टी सङ्कलन भएको छ। ६२ देशका एक हजार १६२ आरोहीबाट सो रोयल्टी सङ्कलन भएको पर्यटन विभागले जनाएको छ। विभागका अनुसार आरोहण अनुमति लिनेमा पुरुष ९सय १५ र महिला दुई सय ४७ जना रहेका छन्। आरोहीले शरद ऋतुमा विभिन्न ५० हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए। जसमध्ये सबैभन्दा बढी २७ समूहका ३१६ जनाले आमादब्लम हिमालको आरोहण अनुमति लिएका छन्। जसबाट  एक कारोड ४० लाख ३६ हजार ३०० रोयल्टी सङ्कलन भएको छ। 

सबैभन्दा बढी रोयल्टी भने मनास्लु हिमाल आरोहण अनुमतिबाट उठेको छ। मनास्लुबाट मात्रै  दुई करोड ७० लाख ८५ हजार ६ सय रोयल्टी सङ्कलन भएको निरौलाको भनाइ छ। मनास्लु हिमाल आरोहणका लागि २७ समूहका २६४ जनाले अनुमति लिएका छन्। त्यसैगरी धवलागिरि हिमाल आरोहणबाट  ३२ लाख आठ हजार पाँच रोयल्टी सङ्कलन भएको छ। उक्त हिमाल आरोहणका लागि तीन समूहका ३१ जानले अनुमति लिएका छन्। यता थापा पिक आरोहण अनुमतिबाट  ११ लाख ८९ हजार ३१२ सङ्कलन भएको पर्यटन विभागले जनाएको छ।

वसन्त ऋतुमा आरोहीको भीड लाग्ने विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति पाएका थिए। उनीहरुबाट सरकारले  ६३ लाख ११ हजार ८ सय रोयल्टी सङ्कलन गरेको छ। लामो समयपछि शरद ऋतुमा आरोहणका लागि गएको भए पनि सफल हुन नसकेको निरौलाको भनाइ छ। सगरमाथा आरोहण असफल भएपछि उनीहरु फर्किसकेका छन्। शरद ऋतुमा आरोहणका लागि मौसम सामान्य अनुकूल हुने भए पनि उच्च गतिको हावाका कारण जोखिम हुने आरोहीको भनाइ छ। सगरमाथा आधार शिविरदेखि क्याम्प १ सम्मको अति जोखिमयुक्त बाटो निर्माणको जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार शरद ऋतुमा बाटो निर्माण गर्दा खर्च बढी लाग्छ।

त्यसैले यो समयमा आरोही समूहले नै बाटो  निर्माण गर्दै जानुपर्ने हुन्छ। वसन्त ऋतुमा ६ सय अमेरिकी डलरमा क्याम्प १ सम्मको बाटो बनाउने सकिने भए पनि शरद ऋतुमा कम्तीमा २५ हजार अमेरिकी डलर लाग्ने समितिले जनाएको छ।  नेपाल सरकारले समेत शरद ऋतुमा आरोहणलाई प्राथमिकता दिएको पाइँदैन। यस याममा आरोहणका लागि आवश्यक पूर्वाधार तयार पार्न सरकारको ध्यान नगएको आरोही किताब सिं तामाङले बताए। रासस
 

कमेन्ट लोड गर्नुस