सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको कोईलही तालमा भोगााधिकारको विवाद

२०७६ कार्तिक १९, ०५:५८ खबर संवाददाता

कैलालीको कोईलही तालमा भोगााधिकारको विवाद सिर्जना भएको छ। तालमा स्थानीय कोइलही ताल संरक्षण सम्वद्र्धन समिति, स्थानीय भलमन्साहरूको कुलो सिँचाइ समिति र तालमा डुंगा सञ्चालनको ठेक्का पाएका ठेकेदार महेश सापकोटा बिच विवाद बढेको हो। तीन वटै पक्षले तालमा तालाबन्दी गरेपनि अहिले ताला खोलिएको छ। तर विवाद भने कायमै छ। 

गाउँपालिकाको वडा नम्बर ९ को कार्यालयको सिफारिसपछि कैलारी गाउँपालिकाले डुंगा सञ्चालनको लागि पर्यटन व्यवसायी महेश सापकोटालाई ठेक्का दिएको थियो। गाउँपालिकाले ठेक्का दिएपछि समिति लगायत स्थानीय सरोकारवाला विरोधमा उत्रिएका हुन्। समितिका साथै स्थानीय भलमन्साको कुलो सिँचाइ समितिले आफूहरू पहिलैदेखि संरक्षण तथा सम्वद्र्धन गर्दै आएको र तालको पानी खेत सिँचाइमा प्रयोग गर्दै आएकाले डुंगा सञ्चालन समेत गर्न पाउनुपर्ने भन्दै विरोध गरेका छन्। ताल क्षेत्रमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति मार्फत दर्जन बढि भौतिक संरचना निर्माणपछि ति संरचना स्थानीय समितिलाई नै हस्तान्तरण गरिएको थियो। 

समितिका अनुगमन समिति सदस्य रामसमझ चौधरीले स्थानीय भलमन्साको अगुवाइमा पहिलैदेखि सिँचाइको लागि प्रयोग हुँदै आएको तालमा अहिले सबै पक्षले दावी गर्दै आएको बताए। समितिका अध्यक्ष डबलबहादुर तरामी मगरले प्राकृतिक स्रोतसाधनमा स्थानीय जनताको अग्राधिकार हुनुपर्ने बताउँदै तालको संरक्षण तथा सम्वद्र्धन पहिलैदेखि गर्दै आएको र भाबी दिनमा गर्न पाउनुपर्नेमा जोड दिए।
७२ हेक्टर क्षेत्रफलमा फैलिएको तालको पानी कैलारी गाउँपालिका वडा नम्बर ६ को लम्बीफाँटा र वनकट्टा र वडा नम्बर ९ को कोइलही, गदरिया, जमुनीपुर क्षेत्रको करीब एक सय भन्दा बढी हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ हुँदै आएको छ। गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष खेमराज चौधरीले तालबाट संकलन हुने आम्दानी दुरुपयोग नहोस् भन्ने उद्देश्यले टेन्डरको लागि गाउँपालिकालाई सिफारिस गरेको  बताए। तालमा दैनिक सयौँ पर्यटक आउने गरेका छन्।
 

कमेन्ट लोड गर्नुस