सुदूर नेपाललाई विश्वसँग जोड्दै

सञ्जय राना सहित चार जनाको बयान जारी

२०७६ कार्तिक १९, ०४:२१ खबर संवाददाता

धनगढीमा ठगी धन्दा चलाएको आरोपमा पक्राउ परेका सञ्जय राना सहित चार  जनाको जिल्ला अदालत कैलालीमा बयान जारी छ। जिल्ला अदालतका न्यायाधीश कृष्णप्रशाद नेपालको इजलासमा बयान भइरहेको छ।

धनगढी उप–महानगरपालिका–६ मटियारीका राना सहित सोही ठाउँका कमल बहादुर बिक, वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारी र रानाकी साली कल्पना दिवाकोटीको बयान भईरहेको जिल्ला अदालत कैलालीका तहसिलदार तथा सूचना अधिकारी नरवहादुर नेगीले बताए। 

‘चारै जनालाई सोमवार नै जिल्ला अदालतमा पेश गरिएको थियो,’ तहसिलदार नेगीले दिनेश खवरलाई भने, ‘तर सोमवार बरामद भएका सामान बुझ्नमै समय लागेकोले आज मात्रै बयान सुरु भएको हो।’ बयान सकिएपछि मात्रै थुनछेक बहस सुरु हुने बताउँदै उनले बहस सकिएपछि मात्रै आदेश हुने जानकारी दिए।

उनीहरुमाथि ठगी, सरकारी कागजात किर्ते, हातहतियार खरखजना र संगठीत अपराधमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरेको थियो। उनीहरु मध्ये तीन जनालाई भदौ १८ गते पक्राउ गरिएको थियो भने रानाकी साली केही दिनपछि पक्राउ परेकी थिईन्।

प्रहरीले उनीहरुलाई पक्राउ गर्दै साथबाट चार थान पेस्तोल, तीन सय ७९ दशमलव ३६ ग्राम सुन, तमसुक र राष्ट्र बैंकका नक्कली कागजात, चेक बरामद गरेको थियो। तर सञ्जय रानाबाट नगद रकम भने बरामद हुन नसकेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस