सुदूर नेपाललाई विश्वसँग जोड्दै

७ महिनामा सबैभन्दा अग्ला १४ हिमाल चढेर नेपाली आरोही निर्मलले बनाए कीर्तिमान

२०७६ कार्तिक १३, १०:५६ कमल सावद

नेपाली आरोही निर्मल पुर्जाले ७ महिनामा ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेर विश्व कीर्तिमान कायम गरेका छन्। ब्रिटिस सेनामा काम गरिसकेका निर्मल पुर्जाले मंगलबार बिहान शीशापाङ्मा हिमालको सपल आरोहणसहित यो कीर्तिमान राखेका हुन्। यसअघि यो कीर्तिमान पोल्याण्डका आरोही जेर्जी कुकुज्जाको नाममा थियो। उनले झण्डै ८ वर्ष लगाएर सन् १९८७ मा यो कीर्तिमान कायम गरेका थिए।

सन् २००३ मा ब्रिटिस सेनामा आवद्ध भएका ३६ वर्षीय निर्मल पुर्जालाई सन् २०१८ मा बेलायती महारानी एलिजाबेथले अर्डर अफ् द ब्रिटिस एम्पायर (एमबीई) अवार्ड प्रदान गरेकी थिइन्। विश्वमा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल रहेका छन्। उनले गएको अप्रिलबाट आफ्नो यात्रा सुरु गरेका थिए।

गएको अप्रिल २३ तारिखमा उनले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए। उनले गएको मेमा नै सगरमाथा आरोहण गरेका थिए। प्रोजेक्ट पोसिबल अभियानअन्तर्गत रहेर सगरमाथा आरोहण गरेका पुर्जाले खिचेको तस्बिरले विश्वको ध्यान तानेको थियो।उनले खिचेको ’सगरमाथामा आरोहीहरुको भिड’ भएको तस्बिर निकै चर्चित भएको थियो। त्यही तस्बिरका आधारमा विश्वका धेरै सञ्चार माध्यमले ‘सगरमाथामा ट्राफिक जाम’ भन्दै समाचारसमेत लेखेका थिए। साथै उनले आरोहणकै क्रममा अरु ४ जना आरोहीहरुको पनि उद्धार गरेका थिए।

गएको सेप्टेम्बरमा नै उनको अभियान तिब्बतमा रहेको शीशापाङ्मा हिमाल आरोहण गर्ने तयारीमा रहेको थियो। तर चीन सरकारले अनुमति नदिँदा केही समय पछाडि सरेको थियो। नेपाल सरकारले चिनियाँ सरकारलाई अनुरोध गरेपछि अक्टोबर १५ मा पुर्जाले ८ हजार १३ मिटर उचाइ रहेको शीशापाङ्मा हिमाल आरोहणको अनुमति पाएका थिए। 

निर्मल पुर्जाले चढेका हिमाल र सफल आरोहणको मिति :

अन्नपूर्ण, नेपाल, अप्रिल २३
धौलागिरी, नेपाल, मे १२
कञ्जनजङ्गा, नेपाल, मे १५
सगरमाथा, नेपाल, मे २०
लोत्से, नेपाल, मे २२
मकालु, नेपाल, मे २४
नाङ्गा पर्वत, पाकिस्तान, जुलाई ३
जी १, पाकिस्तान, जुलाई १५
जी २, पाकिस्तान, जुलाई १८
के २, पाकिस्तान, जुलाई २४
ब्रोड पिक, पाकिस्तान, जुलाई २६
चो यू, चीन, सेप्टेम्बर २३
मनास्लु, नेपाल, सेप्टेम्बर २७
शीशापाङ्मा, चीन, अक्टोबर २९

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस