सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली कञ्चनपुरका स्थानीय तहले भु–उपयोग नीतिमा आधारित नक्साको सदुपयोग गरेनन्

२०७६ कार्तिक ९, ०१:५३ जनक विष्ट

कैलाली र कञ्चनपुरका स्थानीय तहले भु–उपयोग नीतिमा आधारित भएर बनाईएको नक्साको प्रयोग गर्न नसकेको पाईएको छ। नापी विभागले भूमीको विशेषताका आधारमा नक्साङ्कन गर्दै बनाएको नक्सा गत बैशाखमा स्थानीय तहलाई हस्तान्तरण गरेको भएपनि सदुपयोग हुन नसकेको हो। नापी विभागले भु–उपयोग नीति २०७२ मा टेकेर भु्मीको वर्गीकरण गर्दै सोही अनुसार तयार गरिएको नक्सा गत बैशाखमा कैलाली र कञ्चनपुरका स्थानीय तहलाई हस्तान्तरण गरेको थियो।

भुमीका विशेषताको सुक्ष्म अध्ययन गरी तयार गरिएको नक्साले स्थानीय तहलाई गुरु योजना बनाई क्षेत्रगत रुपमा विभिन्न जोनहरु निर्माण गर्न सकुन भन्ने उद्देश्यले नै विभागले हस्तान्तरण गरेको थियो। तर कैलाली र कञ्चनपुरका स्थानीय तहले छ महिना सम्म ती नक्सालाई थन्काएर राखेका छन् भने नक्सा अनुसार नै अहिलेको भु–वनावट नरहेकाले सोही अनुसारका योजना बनाउन नसकिएको दावी गरिएको छ।

कैलालीको  घोडाघोडी नगरपालिकाका इन्जिनीयर अशोक जोशीले नक्साले इंगित गरेका क्षेत्र र फिल्डको वास्तविकता फरक–फरक रहदा कार्यान्वयन गर्न नसकिएको बताए। उनले नक्साले कृषि क्षेत्र उल्लेख गरेको ठाउँमा घना वस्ती हुँदा समस्या भएको जनाए। ‘औद्योगिक क्षेत्रको हकमा नक्सा मिलेको भएपनि तत्काल कुनै योजना बनिसकेको छैन्।’ उनले भने।

 नापी विभागले भने नक्साकै आधारमा सबै पालिकाहरुले छुट्टाछुट्टै कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यवसायीक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सार्वजनिक उपयोग तथा खुला क्षेत्र तथा आवश्यकताका आधारमा तोकिएका अन्य क्षेत्र बनाई विकासको मोडल बनाउदै कार्यान्वयन गर्न सक्ने जनाएको थियो।

एक वर्षको समय लगाएर तयार गरिएको नक्सा अनुसार नै योजना बनाई  कार्यान्वयन गरेमा भुमीको व्यवस्थित विकास समेत हुने विज्ञहरुको भनाई थियो। तर स्थानीय तहले भने नक्सालाई सोही अनुसार प्रयोगमा ल्याउन सकेको छैनन्। जनप्रतिनिधिको असहयोगका कारण पनि नक्साले इंगित गरे अनुसारका योजना  बनाउन नसकिएको दावी गरिदै आएको छ।

 कैलालीको भजनी नगरपालिकाका इन्जिनीयर भक्तराज जोशीले जनप्रतिनिधिहरु आफ्नै ढिपीमा चल्दा समस्या भएको जनाए। उनले भने,‘जनप्रतिनिधिहरुले कर्मचारीले भनेको मान्दैनन्। काम गर्न कठिन छ, त्यसैले पनि भु–उपयोग नीतिमा आधारित नक्सालाई कार्यान्वयनमा लैजान सकिएको छैन्।’स्थानीय तहहरुले भु–उपयोग नीति लागु गर्न अग्रसरता देखाएमा बढ्दो बसाईसराईलाई व्यवस्थित गर्दै दीगो विकासको अवधारणलाई पनि अगाडी बढाउन सकिने विश्वास लिईएको छ।

नापी विभागले पनि भु–उपयोग सम्बन्धी क्षमता अभिवृद्धि गर्न कैलालीका स्थानीय तहका प्राविधिकहरुलाई क्षमता अभिबृद्धि तालिम समेत प्रदान गरिसकेको छ। तर उक्त नक्सालाई आधार मान्दै योजना बनाउने काम भने पालिकाहरुकै भएको नापी विभागका नापी अधिकृत प्रकाश दुलालले बताए। विभागले प्राविधिक सहयोग मात्रै गर्ने उनले जनाए।

पछिल्लो समय बढ्दै गएको जनसंख्या, आन्तरिक बसाईसराई, अव्यवस्थित शहरीकरण, कृषियोग्य जमीन, वनजंगल तथा सार्वजनीक जग्गा अतिक्रमणका कारण भुमी र प्राकृतिक स्रोतहरुको संरक्षणमा चुनौति थपिदै गएको छ। पर्यावरणीय परिवर्तनको असरले नै भुक्षयीकरण, बाढी, पहिरो लगायतका प्राकृतिक विपदको समेत सामाना गर्नुपरिरहेको छ।

तर भु–उपयोग नीतिलाई आधार मान्दै नापी विभागले तयार गरेको नक्साको आधारमा स्थानीय तहले गुरु योजना बनाई दीगो विकासको अवधारणा लागु गर्न सके यस्ता विविध समस्याको अन्त्य हुने विश्वास लिईएको छ त्यसका लागि स्थानीय तहले उक्त नक्सामा आधारित भएर काम गर्न अग्रसरता देखाउन जरुरी छ। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस