पर्यटन प्रवर्दनका लागि घरवास सञ्चालन
सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेका बेला चितवनको माडीमा नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि होमस्टे (घरवास) सञ्चालन गर्ने भएको छ। नेपाल सरकारले पर्यटन वर्षका रूपमा मनाउनका लागि प्रचारप्रसारमा लागिरहेका बेला भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यका साथ माडी नगरपालिकाले त्यसमा सहयोग गर्न पर्यटनका क्षेत्रमा काम गर्ने योजनाका साथ अगाडि बढेका छन्। चालू आर्थिक वर्ष २०७६÷७७ मा ३२ नयाँ होमस्टे सञ्चालनमा ल्याउने तयारी भइरहेको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बताए।
उनले भने, “माडी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले विशेष गरी होमस्टेलाई जोड दिएको छ। माडीको वनकट्टा, वसन्तपुर, शिवद्वार, राइटोलमा पर्यटकलाई लक्षित गरी होमस्टे खोलिनेछ।” यसअघि नै माडीको पाण्डवनगर र शिवद्वारमा केही होमस्टे सञ्चालनमा रहेको प्रमुख ढकालले बताए। होमस्टे सञ्चालन हँुदा पर्यटकको बसाइँ लम्बिने भएकाले पनि होमस्टेमा जोड दिएको उल्लेख गर्दै उनले माडीका मुख्य नौ गन्तव्यलाई पर्यटकको रोजाइका क्षेत्र बनाउन नगरपालिकाले काम गरिरहेको बताए।
उनले माडी आउने पर्यटकले वाल्मीकि आश्रम, परशुरामकुण्ड, सोमेश्वरगढी, कम्युनिष्ट पार्टीको चौथो एकता महाधिवेशनस्थलमा बनेको एकतास्तम्भ, शहीदपार्क, बैकुण्ठ ताल, वनकट्टामा निर्माण हुन लागेको वृहत घाँसखेती परियोजना, माछा जोन हेर्न माडी आउने पर्यटकको चहलपहल बढाउन सकिने बताए।
नगरप्रमुख ढकालले भने, “गैँडा, बाघ हेर्ने क्षेत्रका रूपमा चिनाउने ठाउँमा भ्यूटावर बनाउँदैछौँ। पर्यटन मार्गको पनि स्तरोन्नति काम थालनी गरेका छौँ।” उनले वाल्मीकि आश्रमदेखि वगई हुँदै सौराहा जोड्ने गरी पर्यटनमार्ग विस्तार गर्ने योजनाका साथ अगाडि बढेको बताए।
यसैबीच चितवन जिल्लाको दक्षिण भेगमा पर्ने माडी क्षेत्रलाई पर्यटनको ‘हब’ बनाउन माडी नगरपालिका र क्षेत्रीय होटल सङ्घ सौराहाबीच सहकार्य हुने भएको छ। सौराहासँगै समग्र जिल्ला र निकुञ्जसँग जोडिएका जिल्लाहरूमा पर्यटकीय विकासको लहर फैलाउँदै सो क्षेत्रको प्रवद्र्धन गर्ने लक्ष्यसहित माडी नगरपालिका र क्षेत्रीय होटल सङ्घ सौराहा सहकार्य गर्दै आगाडि बढ्ने सहमति भएको प्रमुख ढकालले बताए।
पर्यटन वर्ष नजिकिँदै गर्दा चितवन आउने पर्यटकलाई थप नयाँ प्याकेजको रूपमा माडी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए। उनले यस क्षेत्रमा लगानी गर्न समेत आफूहरू इच्छुक रहेको बताए।
सौराहाबाट निकुञ्जको घनघोर जङ्गल, चुरेपहाड छिचोलेर माडीको यात्रामा जाने परम्परा शुरु भए पनि दीर्घकालीन रूपमा कार्यान्वयन नहुँदा माडी ओझेलमा परेको भन्दै माडी पर्यटन विकास समितिका संयोजक पुरन महतोले अब यसलाई फेरि निरन्तरता दिनुपर्नेमा जोड दिए।
सौराहादेखि चुरे पहाड हुँदै माडीसम्म जिप सफारी गर्दै जाने बाटो बनाउनुका साथै निकुञ्ज प्रवेशको टिकटको समयावधि बढाउन सके मात्र सौराहा र माडीको पर्यटन थप अगाडि बढ्ने सङ्घका वरिष्ठ उपाध्यक्ष राममणि खनालले बताए। उनले यसका लागि प्रदेश र केन्द्र सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए।
माडीमा पूर्वाधार निर्माण हुनसके पैदल नै निकुञ्ज घुमेर माडी पुग्दा पर्यटक रमाउने व्यवसायीहरूले बताएका छन्। सौराहाका व्यवसायीले माडीमा पर्यटन प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाएका छन्। क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष नारायण भट्टराईले माडीको विकासमा आफूहरूको पूर्ण सहयोग रहेको भन्दै सौराहामा आएका पर्यटकलाई माडीमा भित्र्याउन सके चितवनमा पर्यटकको बसाइँ लम्बिने विश्वास व्यक्त गरे। सौराहामा आएका पर्यटकलाई माडी पु¥याउन सके पर्यटन प्रवद्र्धन हुने विश्वास स्थानीयवासीको छ। रासस