सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाँकेमा आन्तरिक पर्यटकको लर्को

२०७६ कार्तिक ५, १०:२० खबर संवाददाता

बाँके- बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली सामुदायिक घरवासमा घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेकोे छ। नेपाल सरकारले सूचीकृत गरेका प्रमुख १०० पर्यटकीय गन्तव्यमा परेको गाभर भ्याली घरवासमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिकरूपमा बढ्दो रहेको गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष कृष्णलाल चौधरीले बताए।
उनका अनुसार, बाँके, बर्दिया मात्र भई कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर ५ का अन्य जिल्लाबाट बढी मात्रामा घरवासमा पाहुना घुम्न आउने गरेका छन्। छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ। खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ। 

थारू र मुगाली समुदायद्वारा सञ्चालित उक्त घरवासमा दैनिक करीब ५ सय पर्यटक पुग्ने गरेका छन्। सो घरवासमा दशैँका बेलासमेत आन्तरिक पाहुनाको चहलपहल नघटेको चौधरीको भनाइ छ। बाहिरी जिल्लाका साथ साथै पर्व मनाउन बाँके फर्किएका सर्वसाधारण यतिबेला घरवासमा घुम्न आउने गरेका उनले बताए। “यतिबेला बाहिरी जिल्लासँगै बाँके जिल्लाभित्रैका पाहुना यहाँ आइरहेका छन्।”, चौधरील भने, “दशैँ मान्न गृहजिल्ला पुगेकाहरु समय मिलाएर यहाँ आउने गरेका छन्।”

काठमाडौँमा इञ्जिनीयरिङ अध्यापन गर्दै आएका नेपालगञ्ज उपमानगरपालिका–१० का नरेश श्रेष्ठले दशैँ बिदामा घर आएका बेला घरवासको स्वाद चाख्न गाभर पुगेको बताए। काठमाडौँमा बस्दा गाभर होमस्टेबारे जानकारी पाएकाले अहिले दशँँै बिदाका बेला गाभर पुग्ने अवसर मिलेको उनले उल्लेख गरे। दशैँ पर्वमा समेत पाहुनाको चहलपहलले घरवास सञ्चालक उत्साहित भएका अध्यक्ष चौधरी बताउँ छन्। दशैँका अवसरमा पोखरा, काठमाडौँलगायतका ठाउँबाट पर्यटन व्यवसायीसमेत गाभर भ्याली घुम्न आएका छन्। यहाँ लगानीसँगै घरवास र ठूलो लगानीका आरामदायी होटलसमेत थपिएका अध्यक्ष चौधरीले बताए। उनका अनुसार, पुराना घरवासलाई पूर्वाधारयुक्त बनाइएको छ भने तीन निजी घरवास र दुई होटल थपिएका छन्। 

गाभर भ्याली सामुदायिक घरवासकै च्यामा क्षेत्रका रूपमा अहिले च्यामामा पनि घरवास विस्तार भएका छन्। च्यामामा करीब रु एक करोडको लगानीमा गणेश चौधरीले सुविधासम्पन्न रिसोर्ट प्रकारको घरवास सञ्चालनमा ल्याएको छ। घरवासभन्दा अलि फरक तरिकाले सुविधासम्पन्न होटलका रुपमा विकास गर्ने योजना रहेको उनले बताए। “होमस्टे धेरै भइसकेका छन, त्यो भन्दा अझ राम्रो सुविधा खोज्ने पाहुनालाई आकर्षित गर्न ठूलो लगानी गरेको हुँ”, उनले भने, “पाहुनाको कमी छैन, त्यसैले सेवा र सुविधा विस्तार गर्न लागेका छौँ।”

विसं २०७० मा शुरु भएको गाभर भ्याली घरवास अहिले नेपालकै नमूना घरवासका रुपमा चिनिन्छ। बाँकेमा सञ्चालित घरवास जीविकोपार्जन मात्रै नभई आयआर्जनको माध्यम बनेको अध्यक्ष चौधरीले बताए। सो घरवासमा शुरूका दिनमा रु २०÷३० हजारबाट  व्यवसाय शुरू गरिए पनि अहिले कुनै घरले रु २० लाख र कुनैले रु ५० लाखसम्म लगानी गरेको अध्यक्ष चौधरीको भनाइ छ।

“हामीले केवल जीविकोपार्जन मात्रै नभई नेपालमै पहिलोपटक आयआर्जन, संस्कृतिको प्रवद्र्धन, प्रकृतिको संरक्षण र बाघ पर्यटनको अवधारणा अघि सारेका छौँ, यस्ता सवाल उठान गर्ने गाभर भ्याली होमस्टे एउटा होमस्टे मात्रै नभई देशकै आन्तरिक पर्यटन प्रवद्र्धनको अगुवा र पर्यटन उद्योगमा नयाँ आयामको शुरुआत गर्ने स्थल हो”, चौधरीले भने, “गाउँमा होमस्टे स्थापनापछि गाउँलेको बोलीचाली, रहन सहन देखि आर्थिक स्रोतमा नै उल्लेख्य परिवर्तन आएको छ।” बाँकेको पहिलो सामुदायिक गाभर भ्याली घरवासमा १७ घरले आन्तरिक पाहुनालाई स्वागत सत्कार गर्दै आएका छन्।  रासस
 

कमेन्ट लोड गर्नुस