सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारत–पाकिस्तानबीचको लडाइँमा दुई नेपालीको मृत्यु

। फोटो स्रोत ।
२०७६ कार्तिक ४, ०८:४८ खबर संवाददाता

भारत–पाकिस्तानबीचको पछिल्लो लडाइँमा दुई नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा पदमबहादुर श्रेष्ठ र गामिल कुमार श्रेष्ठको रहेका छन्। उनीहरुको नाम नेपालीजस्तो भए पनि कुन देशका हुन् भन्ने खुलाइएको छैन। गएराति पाकिस्तान नियन्त्रित कश्मिर (पीओके)मा भारतीय सेनाले आक्रमण गरेको थियो। पाकिस्तानले पनि भारततर्फ आक्रमण गरेको थियो। पाकिस्तानतर्फबाट भएको आक्रमणबाट भारतीय सेनामा कार्यरत हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

यस्तै ५५ वर्षीय मोहम्मद सादिक नामका एक सर्वसाधारण नागरिकको पनि मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्। भारत र पाकिस्तान दुवैले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्। भारतीय सेनाको तर्फबाट जारी विज्ञप्तिमा पाकिस्तानले भारतीय क्षेत्रमा आतंकवादीहरुको घुसपैठ गराएर युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ।

त्यसको बदलामा भारतीय सेनाले पनि आतंकवादी समूहको क्षेत्रमा आक्रमण गरेको भारतीय स्थल सेनाप्रमुख जनरल विपिन रावतले बताएका छन्। भारतीय सेनाको आक्रमणबाट पाकिस्तानको सीमामा ६ देखि १० जनासम्म आतंकवादी मारिएको र उनीहरुका तीनवटा क्याम्प ध्वस्त बनाएको दाबी रावतको छ। तर पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले भारतले विनाकारण जुरा, शाहकोट र नौशेरी क्षेत्रमा युद्धविराम उल्लंघन गरेर सर्वसाधारण नागरिकलाई निशाना बनाएको आरोप लगाएका छन्। उनले जवाफी कारबाहीमा भारतीय सेनाका ९ जना मारिएको दाबी गरेका छन्। भारतका दुईवटा बंकरमा पनि क्षति र्पुयाएको पाकिस्तानको दाबी छ।

उनले एक जना पाकिस्तानी सेना र तीन जना सर्वसाधारण नागरिकको मृत्यु भएको बताएका छन्। यस्तै पाकिस्तानी सेनाका दुई जवान र सर्वसाधारण नागरिक तीन जना घाइते भएको पनि बताएका छन्।
 

कमेन्ट लोड गर्नुस