सुदूरपश्चिममा जनता आवास कार्यक्रम अलपत्र
सुदूरपश्चिम प्रदेश सरकारले बजेटको अख्तियारी नदिएपछि जनता आवास कार्यक्रम अन्तरगत घर निर्माणको कार्य तीन महिना देखी ठप्प रहेको छ। कैलाली र कञ्चनपुर जिल्लाका लोपोन्मुख तथा विपन्न समुदायका लागि घर निर्माण गर्ने भन्दै लागु भएको जनता आवस कार्यक्रम अन्तरगत घर निर्माण कार्य बजेट अभावका कारण तीन महिना देखि ठप्प रहेको हो।
घर निर्माणको जिम्मेवारी संघीय सरकार मातहतबाट प्रदेश सरकार मातहतमा आएको एक वर्ष पुग्नै लाग्दा पनि घर निर्माण कार्यले तिव्रता नपाएको लाभग्राही भरत दासले बताए। ‘आफ्नै लगानीमा घर निर्माण गरेको छु,’ उनले भने, ‘भुक्तानी भने अझै पाएको छैन।’ अहिले दुई जिल्लामा ९० वटा मात्रै घर निर्माण भईरहेका छन्।
आर्थीक वर्ष २०७४÷०७५ मा मात्रै आवास निर्माण गर्ने गरि कैलाली, कञ्चनपुरका १२ हजार विपन्न परिवारले आवेदन बुझाएका थिए। जनता आवास कार्यक्रम अन्र्तगत गन्धर्ब, वादी, राजी र लोध जातिको घर निर्माण भईरहेको भएपनि बजेट अभावका कारण साउन देखि घर निर्माण कार्य ठप्प रहेको सहरी विकास तथा भवन कार्यालयका ईन्जिनियर नविन कुमार सिंहले बताए।
उनले मन्त्रालयकै ढिलाईका कारण काम रोकिएको बताए। उनका अनुसार जनता आवस कार्यक्रमका लागि भौतिक पुर्वाधार विकास मन्त्री पठान सिँह बोहरा अध्यक्ष र सबै मन्त्रालयका सचिवहरु सदस्य रहने गरी मुल समिति गठन भएको छ। जनता आवास कार्यक्रम अन्तरगत यसअघि कैलाली र कञ्चनपुमा निर्माण गरिएका घरहरुको पनि भुत्तानी दिन बाँकी रहेको उनले स्वीकार गरे।
तर भौतिक पुर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी केशव जोशीले यस विषयमा छलफल चलिरहेको बताउँदै केही दिनमा बजेटको अख्तियारी दिने दावी गरे।