सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्की क्षेत्र जघन्य अपराधको अखडा बन्दै, एक सातामा दुई जनाको हत्या

२०७६ असोज २८, ०८:२० जनक विष्ट

कैलालीको लम्कीमा दुई समूहबिच भएको झडपमा परी १३ वर्षीय किशोर भगत भण्डारीको मृत्यु भएको  घटना सेलाउदै नपाउदै  सोमबार लम्कीमै श्रीमानले घरमै परपुरुषसंग भेटेपछि श्रीमतीको कुटेर हत्या गरेको घटना सार्वजनिक भएको छ। लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवा बस्ने धिरेन्द्र थापाको कुटाईबाट उनकी श्रीमती जानकी बिक थापाको मृत्यु भएको हो।

प्रहरीका अनुसार हत्याका दुई सहित लम्की क्षेत्रमा चालु आर्थिक वर्षमा २५ वटा घटना भएका छन्। कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले २५ वटा घटना साउन महिना यताका भएपनि अधिकांश मुद्दा फच्यौँट भईसकेको बताए तर तत्काल लम्की क्षेत्रमै अपराधिक गतिविधीमा संलग्न भएको आरोपमा १८ जनालाई हिरासतमा राखेर अनुसन्धान भईरहेको बताए।

एक सातामा सार्वजनिक भएका दुईवटा हत्याका घटनाका ७ जना आरोपी पनि प्रहरीको नियन्त्रणमा छन्। प्रहरीको त्रिवर्षीय तथ्याङ्कलाई केलाउने हो भने पनि लम्कीमा दिनप्रतिदिन अपराधिक गतिविधी बढ्दै गएको देखिन्छ। हत्या, हिंसा, बलात्कार, जबरजस्ती करणी, बहुविवाह, मानव बेचबिखन, लागुऔषध, आत्महत्या, चोरी डकैती जस्ता अपराधिक गतिविधीको अखडा नै लम्की बन्न थालेको  झल्को प्रहरीको तथ्याङले दिएको छ।

आर्थिक वर्ष २०७३÷७४ मा  हत्या, हिंसा, बलात्कार, जबरजस्ती करणी, बहुविवाह, मानव बेचबिखन, लागुऔषध, आत्महत्या, चोरी डकैती, हातहतियार खरखजना, सवारी ज्यान लगायतका ३७ वटा मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७४÷७५ मा ४७ र आर्थिक वर्ष ७५÷७६ मा ८९ मुद्दा दर्ता भएको कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

चालु आर्थिक वर्षको समेत गरेर चार वर्षको अवधीमा हत्याका सातवटा मुद्दा, ज्यान मार्ने उद्योगका १० वटा, बलात्कारका १७ वटा, जबरजस्तीकरणी उद्योगका १२ वटा, बहुविवाहका १०, मानव बेचबिखनका चारवटा, लागु औषधका ८ वटा, चोरीका १० वटा घटना प्रहरीकोमा दर्ता भएको देखिन्छ।

यस बाहेक सवारी ज्यान सम्बन्धीका २८ वटा, भवितव्य ज्यान, हातहतियार खरखजना, ठगी, आत्महत्या लगायतका घटना पनि लम्कीमा बढ्दो क्रममा रहेको प्रहरीले जनाएको छ। प्रहरीले पनि कैलालीमा सबैभन्दा बढि पछिल्लो समय लम्कीकै बढि अपराधिक गतिविधी हुने गरेको बताउँछ।

तर लम्कीमै अपराधिक गतिविधी बढ्नुको कारण के हो ? भन्ने तर्फ प्रहरी गम्भीर नबन्दा समस्या भएको आरोप पनि  लाग्ने गरेको छ। तर  प्रहरी नायब उपरिक्षक बस्नेतले फरक–फरक समुदायको बसोबास बढि हुनु, लागु औषध तथा मदिराको सेवन लगायतका कारण अपराधिक गतिविधी बढेको देखिएको बताए।

उनले अपराधिक गतिविधी नियन्त्रणका लागि प्रहरी कटिबद्ध रहेको दावी गरे।  तर लम्कीकै एकपछि अर्को गरी श्रृङखलाबद्ध रुपमा भईरहेका अपराधिक घटना नियन्त्रणमा प्रहरी मात्र नभएर स्थानीय तहका जनप्रतिनिधी, नागरिक समाजका अगुवा, बुद्धिजीवि तथा सचेत नागरिकको पनि उतिकै भूमिका खेल्नुपर्ने देखिन्छ।

अपराधिक गतिविधीमा संलग्न व्यक्तिलाई राजनीतिक आडले प्रहरीलाई दबाब दिने प्रवत्तीले समेत अपराधिक मानसिकले बल पुग्ने गरेको जानकारहरुको भनाई रहेको छ। तर लम्कीमा अपराधिक गतिविधी निकै बढेकाले समिक्षा गर्नुपर्ने बेला आएको धेरैको प्रतिक्रिया छ।  

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस