सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका नर्सिङ कलेजद्वारा आफ्नै अस्पताल सञ्चालन गर्न अटेरी

२०७६ असोज ८, १२:३४ नवराज पनेरु

सुदूरपश्चिममा अधिकासं नर्सिङ कलेजले आफ्नै अस्पताल सञ्चालन गर्नुपर्ने नियम भएपनि कार्यान्वयनमा अटेरी गरेका छन्। प्रदेशभरी दर्जन बढी नर्सिङ कलेज भएपनि अनिवार्य रुपमा आफ्नै अस्पताल सञ्चालन गर्नुपर्ने सरकारी निर्णय कार्यान्वयनमा भने अटेरी भएको हो। नेपाल नर्सिङ काउन्सिलको मापदन्ड अनुसार नर्सिङ कलेज सञ्चालनका लागि आफ्नै अस्पताल हुनुपर्छ।

नियमअनुसार नर्सिङ कलेजहरुले २०७४ सालको असोज मसान्तभित्र आफ्नै अस्पताल बनाइसक्नुपर्ने थियो। तर उक्त समय सकिएर दुई वर्ष बित्न लाग्दा समेत सुदूरपश्चिमका दुई वटा बाहेक अन्य कुनै पनि कलेजका आफ्नै अस्पताल छैनन्।

प्राविधिक शिक्षा तथा व्यवसायिक परिषद सुदूरपश्चिम प्रदेश कार्यालयलका सुचना अधिकारी देववहादुर धामीका अनुसार कैलालीमा मात्रै ६ वटा नर्सिङ कलेज रहेकोमा अहिले सम्म पदमा नर्सिङ र नवजिवन नर्सिङ कलेजले मात्रै अस्पताल सञ्चालन गरेका छन्।

‘अन्य कुनै पनि कलेजले अस्पताल सञ्चालन गरेका छैनन्,’ उनले भने, ‘कलेजलाई सरकारले आफ्नै अस्पताल सञ्चालन गर्न थप डेढ वर्ष समयसिमा दिएको छ।’ उनका अनुसार नर्सिङ कलेज सञ्चालन गर्न अनिवार्य रूपमा आफ्नै अस्पताल हुनुपर्ने नियम स्वास्थ्य मन्त्रालयले २०६७ सालमा गरेको थियो।

त्यतिबेला मन्त्रालयले कलेजलाई पाँच वर्षको समय दिएको थियो। तर कलेजले उक्त व्यवस्थालाई अटेर गर्दै आइरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगतमा दिएको समयसिमामा मापदण्ड पुरा नभएको भन्दै अन्तिम पटकका लागि मापदण्ड पुरा गर्न समय थप्ने निर्णय गरेको हो।

उक्त अवधिमा अस्पताल नहुने र मापदन्ड पूरा नभएका कलेजको सम्बन्धनसमेत खारेज हुने निर्णय समेत भएको छ। चिकित्सा शिक्षा ऐनमा ऐन आएको दुई वर्षभित्र आफ्नै अस्पताल बनाइसक्नुपर्ने उल्लेख छ। सोही व्यवस्था अनुसार २०७७ फागुन ९ भित्र अस्पताल नहुने कलेजको सम्बन्धन खारेज समेत हुन सक्ने धामीले बताए। 

आफ्नै अस्पताल नभएपछि कलेजको गुणस्तरमाथि नै प्रश्न खडा हुँदै आएको छ। सेती प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले पनि सम्वन्धित कलेजकै अस्पताल नहुँदा दक्ष जनशक्ति उत्पादनमा समस्या बढेको बताए।

नियम अनुसार ५० शैयाको अस्पताल सञ्चालन गरेको कलेजले बढिमा २० जना र सय शैयाको अस्पताल भएको कलेजले ४० जना विद्यार्थी पढाउन पर्ने हो। तर सुदूरपश्चिम प्रदेशमा भने अस्पताल समेत नभई ४० जना विद्यार्थी पढाइरहेका कलेजहरु छन्। सरकारी वा अन्य नीजि अस्पताल देखाएर उनीहरुले कलेज सञ्चालन गर्दै आएका हुन्। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस