सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिनीको अवैध आयातले सुदूरपश्चिममा बार्षिक ५३ करोड भन्सार छली

चिनीको चास्नीमा पौडी

२०७६ असोज ८, ०६:५० नवराज पनेरु

सुदूरपश्चिम प्रदेशमा भारतबाट हुने चिनीको अवैध आयात रोक्न नसक्दा बार्षिक ५३ करोड बढि राजश्व गुम्दै गएको पाईएको छ। साल्ट्र ट्रेडिङ कर्पोरेसनको क्षेत्रीय कार्यालय धनगढीले गरेको एक अध्ययन अनुसार प्रदेशमा चिनीको अवैध आयातले बार्षिक ५३ करोड २० लाख राजश्व गुमिरहेको हो। 

सुदूरपश्चिममा दुई करोड ४० लाख किलो चिनीको आवश्यकता हो। तर कानुनी रुपमा ५० लाख किलोग्राम मात्रै चिनी भित्रिएको छ। त्यस्मा १० लाख किलो विभिन्न भन्सार नाका भएर भित्रिएको छ भने अन्य यस क्षेत्रका दुई वटा चिनी मिलको उत्पादन मार्फत आपुर्ती भएको छ।

बाँकी एक करोड ९० लाख चिनी भने सुदूरपश्चिमका विभिन्न जिल्लामा भित्रिएको छ। साल्ट ट्रेडिङको चिनी बिक्री हुन छोडेको धेरै बर्ष भईसकेको छ। अहिले चिनीमा भन्सार शुल्क किलोमा २८ रुपैँया भएकोले बार्षिक ५३ करोड २० लाख राजश्व छली भईरहेको पाईएको हो। 

‘कैलाली र कञ्चनपुरका विभिन्न अबैध नाकाबाट दैनिक हजार भन्दा बढि क्विन्टल चिनी भित्रिदै आएको छ,’ साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेयले भने, ‘सुदूरपश्चिममा चिनीको चास्नीमा पौडी भईरहेको छ भन्दा फरक पर्दैन्, पौडी कस्ले खेल्दैछ सबैलाई जानकारी छ।’

साल्ट ट्रेडिङको चिनी सुपथ मूल्य पसल सञ्चालन गरेको समय बाहेक अन्य समयमा विक्री नै हुन छोडिसकेको उनले बताए। ‘बजार अनुगमनको क्रममा बजारभरी अवैध चिनी विक्री भईरहेको भेटिएको थियो, तर कारवाही गर्ने अधिकारी हामीसंग छैन्।’ उनले भने। 

त्रिनगर नाका भएर साइकलमा चिनी क्यारिङ गर्ने समूह नै सक्रिय रहेको छ। उनीहरुले घरायसी प्रयोजनका लागि नभई धनगढी सहित पहाडी जिल्लाका व्यापारीहरुलाई चिनी बिक्री गर्दै आएका छन्। तर उनीहरुबाट भन्सार कार्यालयले भन्सार लिने गरेको छैन्।

भन्सार कार्यालय कैलालीका भन्सार अधिकृत कुमार गौतमले पनि विभिन्न अवैध नाका भएर चिनी भित्रिरहेको स्वीकार गरे। ‘त्रिनगर नाका बाटै चिनी अवैध रुपमा भित्रिरहेको त भन्न मिल्दैन्,’ भन्सार अधिकृत गौतमले भने, ‘तर विभिन्न अवैध नाका भएर चिनी भित्रिरहेको हामीले पनि सुन्ने गरेका छौ, धेरै पटक चिनी बरामद पनि गरेका छौ।’ उनले साईकलमा क्यारिङ गर्नेहरुबाट पनि यात्रु शाखाले भन्सार लिदै आएको दावी गरे। 

यस प्रदेशमा रहेका बाणिज्य, राजश्व र भन्सार लगायतका नियमनकारी कार्यालयको बजार अनुगमनको समयमा उपस्थीती हुने गरेको छ। तर अवैध रुपमा भईरहेको चिनीको आयात भने रोक्न सकिएको छैन्।

यता बाणिज्य कार्यालय कैलालीका प्रमुख कमलवहादुर पुनमगरले भने अनुगमनको क्रममा अवैध चिनी बजारमा धेरै कम भेटिएको दावी गरे। ‘चिनीको अवैध आयात र बजारभरी भन्सार छलीको चिनी विक्री भईरहेको बारेमा गुनासो समेत आएको छैन्,’ उनले भने, ‘अनुगमन गर्दा वैधानीक रुपमा चिनी भित्रिएको भेटिन्छ।’

चिनीको अवैध आयातमा स्थानीय प्रहरी प्रशासनदेखि भन्सारकर्मीको समेत मिलोमतो रहेको आरोप लाग्दै आएको छ। यस क्षेत्रका चिनी व्यापारी आँफै चिनी ल्याउने नभई साईकलमा चिनी क्यारिङ गर्ने महिलाहरुलाई प्रयोग गर्दै आएका छन्।

तर व्यापारीहरुसंग नियमनकारी निकायको मिलोमतो हुने गरेका कारण उनीहरुलाई राजश्व छली गर्दा पनि कारवाही नभएको भेटिएको छ। तर अवैध रुपमा भित्रिएको चिनी भने स्वास्थ्यका लागि पनि उपयुक्त नभएको दावी गरिएको छ। साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीका अनुसार भारतमा रिजेक्ट भएको चिनी नेपाल भित्रिरहेको छ। 

कैलालीको मूल भन्सार त्रिनगरको गेटबाट चिनी आयात गर्ने दुई सयभन्दा बढी महिला छन्। उनीहरुले अकाली दल नाम नै राखेर अवैध रुपमा चिनी तस्करी गर्दे आएका छन्। एक पटक प्रहरी प्रशासनले कडाई गर्न खोज्दा उनीहरुले चिनीको तस्करी गर्न पाउनपर्ने भन्दै आन्दोलन नै गरेका थिए। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस