दसैंको उल्लासबीच एक्लै रानी, झुपडीमा छैन पर्वको खुसी
धनगढी: दसैँ आएको छ। गाउँदेखि सहरसम्म खुसी छाएको छ। घरघरमा मीठोमसिनो पाकिरहेको छ। नयाँ लुगा लगाउने, आफन्त भेट्ने र टीका थाप्ने चटारो छ। तर, यही दसैँले धनगढीकी ७५ वर्षीया रानी थरुनीको जीवनमा भने खुसी ल्याउन सकेको छैन। धनगढी उपमहानगरपालिका–३, त्रिभुवन टोलस्थित एउटा सानो झुपडीमा बस्छिन् रानी। उमेरले ७५ वर्ष पार गरिसकेको छ। आँखाले देख्न छाडेका छन्। शरीर कमजोर छ। जीवनको उत्तरार्धमा सहारा र माया चाहिने बेला उनी एक्लोपन र अभावसँग संघर्ष गरिरहेकी छन्।
अरूका घरमा दसैँको तयारी भइरहँदा रानीको झुपडीमा भने न नयाँ कपडा छ, न मीठोमसिनो खानेकुराको जोहो। दैनिक गुजारा चलाउनै मुस्किल उनलाई दसैँका लागि छुट्टै खर्च जुटाउनु सपना जस्तै बनेको छ। उनी भन्छिन्, ‘मसँग पैसा छैन। छोरीहरूको बिहे भएर आ–आफ्नो घरमा बस्छन्। भएको एउटा छोरा छ, तर सहारा बन्न सकेको छैन। मैले आफ्नो मनको कुरा कसैसँग राख्न पनि सक्दिनँ।’
रानीका श्रीमानको मृत्यु भएको तीन दशक बितिसकेको छ। श्रीमान् गुमाएपछि सुरु भएको एक्लोपन आजसम्म उस्तै छ। छोरीहरू विवाह गरेर आ–आफ्नो घरमा छन्। छोरा पनि साथमा भएजस्तो भएन। परिवार भएर पनि आफ्नो दुःख सुनिदिने र आवश्यकताबारे सोधिदिने कोही नभएको उनको गुनासो छ।
रानीको जीवनयापनको मुख्य आधार सामाजिक सुरक्षा भत्ता हो। त्यही रकमबाट खाद्यान्न र दैनिक आवश्यकताका सामग्री जुटाउनुपर्छ। आँखाले देख्न नसक्ने भएकाले बजारसम्म पुगेर आफूलाई चाहिने सामान किन्नसमेत सहज छैन। ‘खान मन लाग्छ, तर मसँग पैसा छैन। ल्याइदिने पनि कोही छैन,’ उनले भनिन्।
रानी बस्ने झुपडी पनि आफ्नै जमिनमा बनेको होइन। अर्काको जग्गामा बनेको साँघुरो कच्ची घरमा उनी वर्षौँदेखि जीवन बिताइरहेकी छन्। घरमा बिजुलीबत्तीसमेत छैन। गर्मीमा बस्न कठिन हुन्छ। आँखाले देख्न नसक्ने अवस्थामा सामान्य काम गर्नसमेत उनलाई समस्या हुन्छ। दसैँमा परिवारसँग बसेर मीठो खाने, नयाँ लुगा लगाउने र आफन्तसँग खुसी साट्ने रहर रानीलाई पनि छ। तर, रहर पूरा गर्न न पैसा छ, न साथ दिने मान्छे। उनका लागि दसैँको अर्थ उत्सवभन्दा पनि जसोतसो दिन कटाउनु र पेट भर्नु बनेको छ।
दसैँलाई पारिवारिक मिलन, माया र सद्भावको पर्व भनिन्छ। तर, रानीको जीवनले दसैँ सबैका लागि समान खुसी बोकेर आउँदैन भन्ने देखाउँछ। कसैका घरमा पर्वको रौनक छ, कसैका घरमा अभाव र एक्लोपन। जीवनको उत्तरार्धमा रहेकी रानीलाई ठूलो अपेक्षा छैन। उनको जीवन केही सहज होस्, आवश्यक खानेकुरा र कपडा जुटोस्, दुःख पर्दा साथ दिने कोही होस् भन्ने चाहना छ।