सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुम उपत्यका पुगेका पर्यटक अलपत्र

२०८३ असोज २६, ०३:१८ रासस

गोरखा : भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन् ।

आइतबार गएको बूढीगण्डकी बाढीले विभिन्न ठाउँका पुल तथा पदमार्ग बगाएपछि पर्यटक अलपत्र परेका हुन् ।
हिँडडुल गर्न तथा गन्तव्यतर्फ जान नपाएपछि पर्यटक त्रासमा रहेका स्थानीय होटल व्यवसायी उपसमितिका संयोजक गणेश कार्कीले बताए । कतिपयलाई आज बिहानैदेखि नेपाली सेनाको ठूलो हेलिकप्टरले उद्धार गरिरहेको उनले जानकारी दिए । 

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार चुम उपत्यकामा अहिले ८० भन्दा बढी पर्यटक छन् । कतै पनि जान नपाएपछि पर्यटकहरू आत्तिएका छेकम्पारका होटल व्यवसायी दोर्जे लामाले बताए । “कतै हिँडडुल गर्न पाएका छैनन् । कसैको भिसा सकिन लाग्यो भनेर आत्तिएका छन् ।

कोही नाकाबन्दी भयो भनेर आत्तिएका छन”, उनले भने । 
यो परिस्थितिमा पर्यटकलाई उद्धार गर्न हेलिकप्टरले उडान अनुमति लिइरहनु नपर्ने निर्णय सरकारले गरेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिए । “पर्यटकहरूलाई इमर्जेन्सी भए उनीहरूकै कम्पनीले उद्धार गर्न सक्छ । नत्र सरकारले आफ्नै कार्यसूचीअनुसार उद्धार गर्छ”, उनले भने । अहिले बाढी प्रभावित क्षेत्रमा अलपत्र परेकाहरूको उद्धार कार्यलाई प्राथमिकता दिइएको उनको भनाइ छ । 
 

कमेन्ट लोड गर्नुस