सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाँकेमा बाढीका कारण सयौँ घर डुबानमा

२०७६ असोज २, ११:११ खबर संवाददाता

बाँकेमा बाढीका कारण सयौँ घर डुबानमा परेका छन्। बाँकेको खजुरा गाउँपालिका, जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिका बढी प्रभावित भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। कार्यालयका अनुसार खजुरा गाउँपालिकामा मानखोला र जेठी नालामा आएको बाढीका कारण दशविगाह, आठ विगाह र सिन्दुरे गाउँ डुबानमा परेका छन्। ६४ घरपरिवारका दुई सय ५३ जना जनसेवा माविमा आश्रय लिएर बसिरहेका छन्। 

यस्तै  जानकी गाउँपालिकाको शिवपुरी र साइगाउँ क्षेत्रमा पनि बाढीको पानी घरभित्र पस्दा चार परिवार विस्थापित भएका छन् । अन्य घरहरुमा समेत पानी पसेको छ। नेपालगञ्ज उप–महानगरपालिकाका दर्जनौं घरहरुमा पानी पसेको स्थानीयले जनाएका छन्। सीमामा भारतले निर्माण गरेको बाँधका कारण सीमा क्षेत्रमा नेपाली गाउँहरु डुबानमा परेका हुन्। बाढीका कारण नेपालगञ्ज–गुलरिया सडकखण्ड बुधबारदेखि नै प्रभावित भएका छ।

बिहिबार बिहानदेखि नेपालगञ्ज र अन्य क्षेत्रमा पानीको सतह घट्न थालेको छ। वर्षाका कारण नेपालगञ्ज विमानस्थलबाट पहाडी तथा हिमाली जिल्लामा हुने उडान प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालय, रेडक्रस र पलिकाहरुले विस्थापित बाढी प्रभावितलाई खानेकुराको व्यवस्था मिलाएको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस