बाख्रापालनबाट आम्दानी गर्दै पत्रकार लोकेश
धनगढी : मुलुकमा राजनीतिक परिवर्तन र लोकतन्त्र स्थापनाका लागि पत्रकारिता क्षेत्रमा लामो समयसम्म क्रियाशील रहनुभएका लोकेश बोहरा पछिल्लो दशक व्यावसायिक बाख्रापालनमा रमाउनुभएको छ ।
पत्रकारितापछि कृषि तथा पशुपालन क्षेत्रमा केही नयाँ काम गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिका–७ बेलिका बोहराले व्यावसायिक रुपमा बाख्रापालन सुरु गरेको हो ।
“धनगढीलाई कार्यक्षेत्र बनाई मुलुक र जनताको हितका लागि लोकतन्त्रका पक्षमा रही पत्रकारिता गरेँ, त्यस क्रममा किसान तथा उद्यमीलाई नजिकबाट बुझने अवसर प्राप्त गरेँ”, उनले भने, “त्यसबाट आफूले पनि कुनै उत्पादनमूलक काम गर्नुपर्छ भन्ने सोच बनाएर बाख्रापालन सुरु गरेको हुँ ।”
सञ्चारकर्मी बोहराले अहिले सुदूरपश्चिम खसी, बोका, बाख्रा सङ्कलन केन्द्र तथा खरिद बिक्री फार्ममार्फत बाख्रापालनसँगै खसी, बोका खरिद बिक्रीको कारोबारसमेत समाल्दै आउनुभएको छ ।
सुदूरपश्चिमका नौवटै जिल्ला, कर्णालीका केही जिल्ला र काठमाडौँसम्म बोहराले खसीबोकाको व्यवसायलाई विस्तार गर्नुभएको छ । पाँच लाखबाट व्यवसाय सुरु गर्नुभएका बोहराको बाख्रापालन व्यवसायमा हाल रु ४० लाखजति लगानी पुगेको छ ।
उनले वार्षिक एकदेखि डेढ करोडसम्म कारोबार गर्दै आउनुभएको छ । उनले रोजगारीसमेत दिनुभएको छ । उनका छोराछोरीको शिक्षादेखि परिवारको सम्पूर्ण खर्च पनि सोही व्यवसायले धान्दै आएको छ ।
उनले भने, “यो व्यवसायले घर निर्माण, गाडी खरिद र विभिन्न ठाउँमा घडेरी जोडेको छु ।” “कृषि र पशुपालनमा चुनौती छन”, उनले भने, “तर व्यवस्थित तरिकाले काम गर्नसके आम्दानीको राम्रो स्रोत बन्न सक्छ ।”
बोहराको बाख्रा खोरमा हाल ६० वटा विभिन्न जातका बाख्रा छन । भारतको राजस्थानबाट १६ वटा उन्नत जातका जमुनापारी, बोयर, खरी, तोतापारी बाख्रासमेत छन् । उन्नत जातका बाख्रापालन गर्दा पाठापाठी तथा खसीबोको बजारमा माग हुनाले ती जातलाई समेटेर व्यवसायलाई विस्तार गरेको उनको भनाइ छ । खसीबाख्रा जातका आधारमा उनले जिउँदो ४५० देखि ६०० प्रतिकिलोका दरका बिक्री गर्दै आउनुभएको छ ।
वार्षिक रुपमा २० हजारजति खसीबोका खरिद बिक्री गर्दै आउनुभएको छ । उनले त्यस क्रममा खोर व्यवस्थापन गर्न भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीबाट आठ लाख अनुदानसमेत पाउनुभएको छ ।
भारत निर्यात बढ्दा खसीबोका उत्पादनमा ह्रास आउने चिन्ता
पछिल्लो समय नेपालबाट खसीबोका भारततर्फ निर्यात हुन थालेपछि स्वदेशमै खसीबोका उपलब्धता घट्नसक्ने र उत्पादनमा कमी आउने हो कि भन्ने किसानलाई चिन्ता बढेको छ ।
छिमेकी मुलुकमा निर्यातका कारण तत्काल किसानले राम्रो मूल्य पाउने अवस्था देखिए पनि लामो लामो समयसम्म स्वदेशी बजारमा खसीबोका आपूर्ति व्यवस्थापनमा चुनौती आउनसक्ने उनले बताए ।
“नेपालमा उत्पादन भएका खसीबोका भारततर्फ जान थालेपछि किसानले तत्काल राम्रो मुल्य पाउँन सक्छन”, उनले भने, “तर ठूलोमात्रामा निर्यात हुन थाल्यो भने स्वदेशमै खसीबोका सङ्ख्या घट्ने र उत्पादनमा असर पर्न सक्छ ।”