सुदूरको चिनारीमै संकट, यसरी महाकालीमा खस्यो दोधाराचाँदनी झोलुङ्गे पुल
धनगढी: महाकालीमाथि उभिएको सुदूरपश्चिमकै चिनारी बनेको दोधाराचाँदनी झोलुङ्गे पुल बुधबार बिहान एकाएक भत्कियो। सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित यो पुलको केही भाग बिहान अचानक अस्वाभाविक रूपमा माथि उठेपछि प्रशासनले तत्काल आवागमन बन्द गरेको थियो। आवागमन रोकिएको केही समयमै पुलको एक स्पान भाँचिएर महाकाली नदीमा खस्यो।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार बिहान पुलको करिब ५ देखि ७ मिटर भाग अस्वाभाविक रूपमा माथि उठेको देखिएपछि पुलमा आवागमन रोकिएको थियो। त्यसपछि दोधारातर्फबाट तेस्रो टावरमा क्षति पुगेको र पुलको एक भाग भाँचिएर नदीमा खसेको उनले बताए।
‘पुलमा आठवटा टावर छन्। तीमध्ये दोधारातर्फबाट तेस्रो टावरमा क्षति पुगेको हो,’ सीडीओ कोइरालाले भने, ‘अहिले पुलमा पूर्ण रूपमा आवागमन बन्द गरिएको छ।’
प्रशासनले पुलमा क्षति पुग्नुको प्रारम्भिक कारण केही दिनअघि आएको ठूलो बाढीलाई मानेको छ। ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि महाकाली नदीमा आएको बाढीको बहाव १ लाख ८० हजार क्युसेकसम्म पुगेको थियो। ‘सोही बाढीका कारण पुलमा क्षति पुगेको हाम्रो प्रारम्भिक अनुमान छ,’ कोइरालाले भने।
पुलमा क्षति पुगेपछि प्राविधिक टोलीले स्थलगत अध्ययनसमेत गरेको छ। झोलुङ्गे पुलका विज्ञका रूपमा परिचित इन्जिनियर प्रकाश बमसहितको टोलीले पुलको अवस्था निरीक्षण गरेको हो।
यता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टसहितको टोलीले पनि क्षतिग्रस्त पुलको स्थलगत अनुगमन गरेको छ। मुख्यमन्त्रीसँगै पुगेका भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट सरलले पुलको पुनर्निर्माणका लागि संघीय सरकार र सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्न प्रदेश सरकार तयार रहेको बताएका छन्।
पर्यटकीय पुल मात्रै होइन, दोधाराचाँदनीको जीवनरेखा
दोधारा–चाँदनी र भीमदत्त नगरपालिका जोड्ने यो झोलुङ्गे पुल केवल पर्यटकीय आकर्षण मात्र होइन, सीमावर्ती नेपाली बस्तीका हजारौँ नागरिकको दैनिक आवतजावतसँग जोडिएको महत्वपूर्ण पूर्वाधार हो।
पुल निर्माण हुनुअघि दोधारा–चाँदनीका बासिन्दाका लागि महाकाली पार गर्नु सहज थिएन। हिउँदमा समेत महाकालीको बगर हुँदै घण्टौँ हिँडेर महेन्द्रनगर पुग्नुपर्ने बाध्यता थियो। वर्षायाममा नदीको बहाव बढेपछि नेपाल–भारत सीमास्थित बनबासा पुल प्रयोग गरेर घुमाउरो बाटो हुँदै आवतजावत गर्नुपर्ने अवस्था थियो।
झोलुङ्गे पुल बनेपछि भने दोधाराचाँदनीका बासिन्दाको महेन्द्रनगरसँगको दूरी र यात्राको कठिनाइ दुवै घट्यो। यही पुल हुँदै दैनिक काम, व्यापार, शिक्षा, स्वास्थ्य उपचारदेखि अन्य आवश्यक कामका लागि स्थानीयहरू भीमदत्ततर्फ आवतजावत गर्न थाले।
समयसँगै यही पुल पर्यटकको रोजाइको गन्तव्यसमेत बन्यो। महाकाली नदीको फराकिलो बहावमाथि लामो दूरीसम्म फैलिएको पुल हेर्न र पार गर्न आन्तरिक पर्यटक पुग्न थाले।
दुई दशक पुरानो पुल, कुनै समय एसियाकै दोस्रो लामो थियो
दोधारा–चाँदनी झोलुङ्गे पुल सन् २००४ अर्थात् २०६१ सालमा निर्माण गरिएको हो। करिब ९ करोड ४२ लाख ४१ हजार रुपैयाँ लागतमा निर्माण भएको पुलको लम्बाइ १ हजार ४५२ मिटर छ।
निर्माणका बेला यो पुल एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा परिचित थियो। पछिल्लो समय नेपालमै यसभन्दा लामो दुईवटा झोलुङ्गे पुल निर्माण भइसकेका छन्।
पुलमा यसअघि पनि मर्मतको काम भइसकेको थियो। २०७६ सालमा करोडभन्दा बढी रुपैयाँ खर्च गरेर पुल मर्मत गरिएको थियो। तर, मर्मत भएको केही वर्षमै पुलको महत्वपूर्ण संरचनामै पुनः क्षति पुगेको छ।
प्राविधिक अध्ययनपछि पुलमा भएको क्षतिको वास्तविक कारण र पुनर्निर्माणका लागि आवश्यक काम स्पष्ट हुने प्रशासनको भनाइ छ।