ढुंगामुनिको रोटी...
दिनेश नगारी, बैतडीः कुरो आजभन्दा लगभग ३० वर्षअघिको हो। त्यतिबेला गाउँमा गाडी, बिजुलीबत्ती, सडक, खानेपानी, शौचालय, फोन, वाइफाइ केही पनि थिएनन्। त्यति मात्रै कहाँ हो र? नास्ता र खाजाका रूपमा किन्न मिल्ने भनेको त्यही प्याकेटमा धेरै महिना रहेको बिस्कुट थियो। त्यो पनि पैसा हुनेहरूका लागि मात्रै थियो।
दुई रुपैयाँमा पाइने ‘पाइनएप्पल’ नामको बिस्कुटको गाउँभरि चर्चा थियो। त्यो बिस्कुट हामीले किन्न पाउने, अर्थात् मसंगैका दौंतरीहरूको हातमा हुने भनेको प्रायः तीन सिजनमा मात्र हो, चैत महिना, भदौ र दसैँमा।
दसैँको दोस्रो दिन त हाम्रो उमेर समूहका सबैको हातमा बिस्कुट, मिश्री र सिठी हुन्थ्यो। बिहानै ठूलाठूला स्वरमा पन्याराखोला नजिकको बाँझो जमिनमा रमाइलो हुन्थ्यो। तर त्यसबाहेकका समयमा भने कमैसँग हुन्थ्यो। मल्लादेहीको जात्रा आइसकेपछि घरबाट लागेको पाँच रुपैयाँमा लगभग राम्रो किनमेल हुन्थ्यो। एक रुपैयाँको मिश्री किन्दा आठ दाना/गेडा (गाउँमा हामी ‘खोडा’ भन्थ्यौँ), दुई रुपैयाँको बिस्कुट र बाँकी दुई रुपैयाँको सिठीलगायत अन्य सामग्री किनिन्थ्यो।
चैत महिनामा हाम्रो गाउँघरका धेरैजना मानिसहरू रोजगारीको सिलसिलामा भारतको पिथौरागढ र झुलाघाट जानुहुन्थ्यो। त्यताबाट आउँदा ती सामग्रीहरू बिस्कुट, मिश्री, नरिवललगायत लिएर आउनुहुन्थ्यो।
भदौ महिनामा प्रायः गौरापर्व हुने र त्यसमा स्थानीय व्यापारीहरू श्रीभावारबाट झोलामा सामान बोकेर गौराहुने स्थान गोरेखालामा पसल थाप्थे। त्यतैबाट हामीहरू किनेर खुबै झरफर गर्थ्यौँ। तर त्यो हाम्रो झरफरमा पैसाको हिसाबले पाँच रुपैयाँभन्दा बढी गएको भने मेरो सम्झनामा छैन। ऐरिगाउँको गौरामा त्यो बेलाको राम्रै रौनक हुन्थ्यो।
हाम्रो बाल्यकालको अवस्था यसरी अगाडि बढ्दै थियो।
गाउँको विद्यालय श्री लटिनाथ प्राथमिक विद्यालय, ऐरिगाउँमा कक्षा ३ सम्म पढिसकेपछि वडा कार्यालय (तत्कालीन गाउँ विकास समिति) नजिक रहेको श्री गलिनाथ निम्न माध्यमिक विद्यालय, बडगाउँमा कक्षा ४ मा भर्ना हुन पुगियो।
विद्यालय घरबाट अलिक टाढा थियो। घरबाट लगभग ४० मिनेटको दूरीमा थियो विद्यालय। जाने बेला बाटो ओरालो थियो। अलि छिटो र दगुरेर पनि जान सकिन्थ्यो। आउने बेला भने पूरै बाटो उकालो थियो। बाटोमा पानी पनि हुँदैनथ्यो। गाउँमा आइसकेपछि मात्रै पानी पाइन्थ्यो।
विद्यालयबाट घर आउँदा उस्तै भोक लाग्ने, त्यसमाथि झन् उकालो बाटो। बाटोमा पानी पनि छैन। निकै अप्ठ्यारो परिस्थिति थियो। तर पनि सबैले त्यो उकालो काट्नैपर्ने थियो, किनकि हामीहरूसँग अर्को विकल्प पनि थिएन।
स्कुलनजिक एउटा सानो चियापसल त थियो, तर त्यो पसलबाट केही सामग्री किन्ने पैसा पनि त हुने थिएन। त्यसो त खासै पसलमा पनि खाजाका रूपमा अहिलेको जस्तो वस्तुहरू, खाजाका परिकारहरू कहाँ पाइन्थे र? पाइहाले पनि त्यही चिया–बिस्कुट त हो।
झन् त्यसमा स्कुलछेउमै केशव बडू (उहाँलाई मेरै कक्षाका साथीहरू ‘सिवा अंकल’ भनेर बोलाउनुहुन्थ्यो) ज्युको पसल थियो। त्यहाँ प्रायः सरहरू चिया पिउन जाने भएकाले विद्यार्थीहरू जाँदैनथ्यौँ।
करिब चार बजे विद्यालय छुट्टी हुने गर्दथ्यो। त्यसपछि घर आउँदा भोक र उकालोको निरन्तर चुनौती सामना गर्नुपर्थ्यो। झन् त्यसमा पानीको प्यास त कति हो कति!
उसो त विद्यालयमा पनि पानी कहाँ पो थियो र? नजिकै रहेको दर्नाखोलाबाट कालो जर्किनमा बोकेर ल्याएको पानी पिउनुपर्थ्यो। त्यो कालो जर्किनमा (पाँच लिटरको होला सायद) ल्याइएको पानी पनि ‘जो अगुवा उसैको भागमा’ भनेजस्तै हुन्थ्यो। एकैछिनमा सकिन्थ्यो।
बाँकी रहेकाले त फेरि त्यही खोला नजिक रहेको ओखरको रूखनिरको पँधेरोमा गएर पिउनुपर्थ्यो। अझ त्यो पनि विद्यालयसम्म पुग्दा तिर्खा लागिहाल्ने, किनकि दगुरेर हतारहतारमा कक्षामा आउनुपर्थ्यो।
सधैँझैँ भोकले लखतरान भएर घरसम्म आइन्थ्यो।
म उसै नयाँ विद्यार्थी पनि भएँ। मभन्दा गाउँले सिनियर दाइहरू पनि विद्यालय पढ्ने। नरेन्द्र (नारत दाइ), रमेश दाइ, राम काका, अम्मर दालगायतका क्लासमेटहरू थिए। तिनीहरूभन्दा अझ अगाडिका राजेन्द्र, दलबहादुर, उत्तर, वीर, जनक अंकलहरू पनि थिए।
तिनीहरू अलिक बलिया र मोटाघाटा थिए। सजिलै त्यो उकालो काट्थे। मसंगका केही साथीहरू र म भने बिस्तारै-बिस्तारै आउने गर्थ्यौँ।
आमाबुवालाई पनि चिन्ता त हुँदो हो, तर चिन्ताले मात्रै नपुग्दो रहेछ। विकल्प पनि थिएन होला।
भदौ र असोजको महिना त काक्रा र हरियो मकै पोलेर गुजारा चलाइन्थ्यो। तर ती दुई महिना काटेपछि हामी कसैसँग पनि अर्को विकल्प थिएन। सबैजना भोकभोकै आउनुपर्थ्यो।
सम्भवतः मंसिरको महिना हुनुपर्छ। विद्यालय र ऐरिगाउँको बीचमा ओखालढुंगा भन्ने ठाउँ छ। कतिपयले त्यसलाई राजाधार पनि भन्ने गर्छन्। त्यो ठाउँमा ढुंगा प्रशस्त पाइन्थे। ठूलाठूला ढुंगाहरू रहेका थिए। एक ठाउँमा त गुफाजस्तै थियो। त्यहाँनिर पुग्दा भने निकै डर लाग्थ्यो।
त्यता भूत हुन्छ भन्ने हल्ला सबैतिर फैलिएको थियो। भूत गुफाजस्तै भएको ठाउँमा बस्छ भन्ने कुरा पनि सबैलाई सुनाइएको थियो। हो, त्यही गुफाजस्तै भएको स्थानको अलिक माथि एउटा ठूलो ढुंगा बिछ्याइएको थियो। त्यसलाई भूतको सुत्ने ढुंगा हो भनेर भन्ने गर्थे।
हाम्रो त त्यो बिछ्याइएको ढुंगामा जाने, बस्ने हिम्मतै हुँदैनथ्यो। तर केही सिनियर दाइहरू आफूलाई पहलमान साबित गर्न आसपासमा अरू मानिसहरू भएको बेला त्यता बस्ने, उठ्ने गर्नुहुन्थ्यो।
म र एकजना सिनियर दाइ हामी दुईजना एक दिन अगाडि घर आउनुपर्ने भएकाले हाफटाइममा छुट्टी मागेर घर आयौँ। त्यो दिन त खासै भोक पनि लागेको थिएन। पानीको तिर्खा त लागेकै थियो, तर पनि हामीहरू घरतर्फ हिँडिरहेका थियौँ।
दाइले मलाई त्यही राजाधार पुगेपछि अलिकति रोकिइरहनू है भन्नुभयो। ‘म एकछिनमा आउँछु’ भन्नुभयो। म एक्लै त्यहाँनिर भूतको डर पनि मान्थेँ। तैपनि तलमाथि, दायाँबायाँ हेर्दै रोकिएको थिएँ।
त्यो बेला बाटोवरिपरि झाडी र सानासाना बोटहरू थिए। बाटोबाहेक खासै दायाँबायाँ केही देखिँदैनथ्यो।
दुई–चार मिनेटपछि ती दाइले कागजभित्र राखेका दुईवटा रोटी लिएर आउनुभयो।
‘अरे दाइ, कहाँबाट ल्याएको?’
भनेँ। उहाँले कसैलाई नभन्ने सर्तमा भन्न थाल्नुभयो, ‘यो ठाउँमा धेरै जनाले रोटी लुकाएर विद्यालय जान्छन् अनि फर्कने बेला खाने गर्छन्।’
‘अनि यी रोटीहरू कसले ल्याएको हो? तपाईंले नै ल्याएको हो त?’
‘होइन, होइन, मैले त होइन,’ रे अझ।
‘अरे, अनि कहाँबाट आयो त?’
‘खै, कसको हो? तर जसले देख्यो, त्यसले खाँदा फरक पर्दैन,’ उहाँले भन्नुभयो।
ती दाइले त्यत्तिको आइडिया बताएपछि अर्को दिन बिहान मैले मेरो नजिकको साथीलाई पनि त्यो कुरा बताएँ। साथीलाई पनि त्यो कुरा थाहा रहेछ।
अर्को दिन बिहान घरबाट मैले पनि रोटी लगेँ र अरू साथीहरूजस्तै ढुंगामुनि लुकाएर गएँ। अन्य धेरै जनाले त्यसरी नै रोटी लुकाएका थिए।
एक छेउदेखि हेर्दै जाँदा धेरै जना विद्यार्थीहरूको खाजा ढुंगामुनि लुकाइएको अवस्थामा फेला पार्यौँ। अलिकति राम्रो पकाएका, जसले घिउ र चिनी लगाएर पकाएका थिए, अरू धेरै साथीहरूका काक्रा, सुन्तला र रोटी त्यही ढुंगामुनि थिए।
कतिपयका रोटीमा कमिलाहरू पनि ओहोरदोहोर गरिरहेका थिए। चिनी र घिउ राखेको रोटीमा छिटो कमिलाले माया गर्ने रहेछ। तर प्लास्टिकको थैलीभित्र बाँधेर राखेका रोटीमा कमिलाले पनि बाहिरबाट मात्रै स्पर्श गर्दो रहेछ।
अनि पानीका ससाना बोतलहरू पनि हुने रहेछन् त्यता। तर को कतिखेर ती रोटीहरू खान्छ भन्ने कुराको केही पनि हेक्का थिएन।
त्यो बेलाका विद्यार्थीहरू निकै अनुशासित हुन्थे, गुरुहरूको अघिपछि हुँदा त। तर एकान्तमा हुँदा त जस्तो पनि गल्ती गर्ने। विद्यालयवरिपरि भने निकै अनुशासित देखिन्थे।
कहिलेकाहीँ ग्याङ फाइट भने भएको देखिन्थ्यो। त्यो बेला फलानो गाउँविरुद्ध अलानो गाउँको बीचमा झगडा हुन्थ्यो। ऐरिगाउँका केटाहरू भर्सेज कोटिला त। रतोका भर्सेज बडगाउँ। बडगाउँ भर्सेज ऐरिगाउँ—यो निक्कै चलिरहन्थ्यो।
तर मैले केटीहरूमा त्यस्तो ग्रुप फाइट भने भएको देखेको छैन। हुन्थ्यो पनि कसरी?
झन् केटाहरूमा पनि ‘मेरो गाउँकी केटीलाई जिस्क्यायो’ भनेर पो बढी केटाहरूमा झगडा हुने गर्दथ्यो।
अनि?
अनि मैले पनि घरमा आमालाई भनेर निरन्तर विद्यालय आउँदा दुई रोटी र अलिकति गोलभेडाको अचार ल्याउन थालेँ। त्यसले मलाई निकै सहज बनायो, राहत दिलायो, भोक र उकालोसँग लड्ने तागत दियो। मेरो समस्याको समाधान गर्यो।
हामीहरू कक्षा ५ मा पुगिसकेका थियौँ। पाँच कक्षाको सुरुमै, वैशाखदेखि नै रोटी लैजाने काम सुरु गर्यौँ।
अनि विधि उही पुरानो थियो आफ्नो–आफ्नो सानो ढुंगाको घर बनाउने अनि त्यहीँ ढुंगामुनि रोटी लुकाउने, फर्किंदा खाने।
यो ठीकठाक चलिरहेकै थियो। केही समयपछि त्यहाँ लुकाएर राखिएका खानेकुराहरू मिश्री, केरा, गुडलगायत निरन्तर हराउन थाले। राखेको ठाउँमा भेट्टाउन छोड्यो। मिले पनि ठाउँ सारेको अवस्थामा भेटिन्थ्यो।
जसले खानेकुरा लगेकै छैन, त्यही मान्छे हाफटाइममा घर आउने अनि त्यो ढुंगामुनि लुकाएर राखेका गुड, मिश्री, रोटी र अन्य खानेकुरा सार्ने, अलिअलि आफू खाने, नखाए पनि यताउता सार्ने, जसरी हुन्छ बिगार्ने...
आजभोलि ती पुराना दिनहरू कहिलेकाहीँ सम्झिन पुगिन्छ। ती पुराना साथीहरू भेट हुँदा रमाइलो गफगाफमा त्यही रोटी लुकाएको कुरा आउँछ।
अनि सोचिन्छ त्यो बालापन, ती साथीहरू, जसले आफूले लगेको रोटी पनि खान पाएनन्। अनि सम्झिन्छौँ ती साथीहरू, जसले अरूले नै लगेका काक्रा, ओखर र सुन्तला खाए। आफूले लगेको होस् या अरू कसैले, हात परे खाने, नखाए बिगार्ने, स्थान सारिदिने आदि, इत्यादि।
अर्थात्, जोसुकैले खाओस्, तर त्यो बेलाको उमेर, ती साथीसंगीको जीवन कति सुखद, कति रमाइलो थियो!
साँच्चै, आजभोलि हेर्दा लाग्छ हिजोका ती बालसखाहरू, जसलाई आज समय, प्रविधि र कामले एक मिनेट फोनमा बोल्ने समय छैन; भेट्ने फुर्सद छैन; गाउँ जाने माहोल बनेको छैन; गाउँका सुख–दुःख सुन्ने, गाउँका मेलापातहरू, दसैँ, तिहार र गौरापर्वमा रमाउने फुर्सद छैन; गाउँमा फलेको नासपाती, सुन्तला, केरा, ओखर र काक्रा खान मिलेको छैन।
समय यस्तै हो।
जो विद्यार्थी कालमा एकै रोटी बाँडेर खान्थे, एकै काक्रालाई दस भाग लगाएर खान्थे, एकै छातामुनि विद्यालय आउने–जाने गर्थे, आज तिनैहरू राजनीतिक विभाजनमा लागेर एक–अर्काको खुट्टा तान्न र विरोध गर्नमा व्यस्त छन्। आफ्नो पार्टी र नेताको विचारभन्दा आफ्नो साथीको बालापन, त्यो मित्रता र सम्बन्धलाई सानो सम्झेका छन्।
भाइभाइहरू राजनीतिले निकै विभाजित भएका छन्। एकले अर्काको कुरा सुन्ने पक्षमा छैनन्।
खासमा त नेता, राजनीति र सिद्धान्तभन्दा पनि त्यो सानो हुँदाको उमेर, सँगै खेलेको, पढेको, रमाएको जीवन माथि हुनुपर्ने होइन र? त्यो मित्रता, त्यो सम्बन्ध, त्यो हार्दिकता र सद्भावले पहिलो स्थान पाउनुपर्ने होइन र?
तर अचेल विभिन्न नाममा विभाजित भएका साथीहरूलाई पनि त्यही काक्रो, त्यही ओखर, त्यही सुन्तला, त्यही ढुंगामुनिको रोटीले सम्झाइरहेको होला।
लुकाएर राखेका रोटी खाने हामीहरू अचेल बूढा हुँदैछौँ। तर ती ढुंगाहरू उस्तै छन्। सानो छँदा मल्लादेहीको जात्रा जाने बेला चोरेर काक्रा खाएका हामीहरू छोराछोरीका बुवा भइसकेका छौँ। तर ती काक्रा फल्ने मेलका रूखहरू लगभग उस्तै छन्। आज पनि त्यही ठाउँमा उभिएर हामीलाई सम्झिरहेका होलान्।
गौरापर्व हेर्न जाँदा टिपेका दाडिमका रूखले पनि अचेल भन्दै होलान् ‘कहाँ छन् ती पुराना साथीहरू? जो एक्लै रूख चढ्न सक्दैनथे, जसलाई घोचीघोची रूख चढाएर दाडिम खान रूखमाथि चढाइन्थ्यो।’
समय निकै परिवर्तनशील हुने रहेछ।
मान्छे बिस्तारै साथीबाट आफ्नो परिवारमा केन्द्रित हुँदो रहेछ। ऊ विगत बिर्सिंदो रहेछ। त्यो बालापन, त्यो विद्यार्थी जीवन, त्यो उकाली अनि ओराली, त्यो एकै जर्किनको पानी खाएको (पिएको) पनि बिर्सिने रहेछ।
अर्काले लगेर लुकाएको सुन्तला, काक्रा र ओखर पनि भुल्ने रहेछ। अनि भुल्ने रहेछ बाटोमै खाएको रोटी र मिश्री पनि।
अब कहिले आउला त्यो दिन, जहाँ हाम्रो बीचमा कुनै लोभ थिएन, कुनै विभाजन थिएन, कुनै घमण्ड थिएन। को धनी र को गरिब भन्ने भावना थिएन। कोसँग कति सम्पत्ति छ र कोसँग छैन भन्ने कुनै अन्दाजा थिएन।
थियो त केवल हाम्रो साथीत्व। अनि थियो एक–अर्काप्रतिको विश्वास, भरोसा र प्रेम।
धेरै वर्ष भइसकेको छ ती अनुहारहरू, जो विद्यालय जीवनका निकै मिल्ने अनुहार थिए। अब त ती मान्छेहरूले अनुहार पनि चिन्दैनन् झैँ भइसकेको छ। समयले केही दशकहरू नै पार गरिसकेको छ।
समयले नै हामीलाई जोडेको थियो। आज समयले नै हामीलाई छुट्याइदिएको छ।
तर त्यो ढुंगा आज पनि त्यस्तै छ, जहाँ हामी रोटी लुकाएर राख्थ्यौँ।
हाम्रो मन बदलिएको छ। हामी बदलिएका छौँ। तर त्यो ढुंगा बदलिएको छैन।
त्यो ढुंगाले हामीलाई याद दिलाएको छ। अझै त्यो रोटीले हामीलाई भनिरहेको छ, तपाईंहरूका मन, विचार, भावना र सम्बन्ध मिल्नुपर्छ। एक ठाउँमा आउनुपर्छ। पुरानो साइनो, सम्बन्ध, हार्दिकता, विश्वास, स्नेह, सद्भाव, त्यो मित्रता र एकतालाई जीवन्त राख्नुपर्दछ।
आज विभक्त भएर होइन, सहयात्रा र सहकार्य गरेर आफ्नो गाउँ, बाटो, समाज र देशको विकासमा लाग्नुपर्छ भनेर...