तीन दिनको झरीले धानमा ठूलो क्षति भएन, उत्पादन राम्रो हुने अनुमान
धनगढी: सुदूरपश्चिममा लगातार तीन दिनदेखि भइरहेको वर्षाले धानबालीमा ठूलो क्षति नपुर्याएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ।
गत ९ गतेदेखि भइरहेको निरन्तर वर्षाका कारण केही पाकेको धानमा सामान्य क्षति भए पनि समग्रमा धान उत्पादनमा असर पर्ने अवस्था नरहेको केन्द्रले जनाएको हो। कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी टेकबहादुर विष्टका अनुसार केही छिटो पाक्ने जातका धान काट्ने समय नजिक पुगेकाले वर्षाका कारण पाकेको धान ढलेको छ।
त्यसबाहेक पछौटे अवस्थामा रहेका धानबालीमा भने वर्षाले उल्लेख्य क्षति नपुर्याएको उउनले बताए। ‘अगाडि पाक्ने केही जातको धानमा सामान्य क्षति भएको छ। पाकेको धान ढलेको अवस्था छ,’ विष्टले भन्नुभयो, ‘तर अन्य धानबालीमा खासै नोक्सानी भएको छैन।’
विगतका वर्षमा असोज–कात्तिकमा हुने वर्षाका कारण धानबालीमा क्षति पुग्ने गरेको भए पनि यस वर्ष धानको उत्पादन राम्रो हुने देखिएको विष्टको भनाइ छ। समयमै पर्याप्त वर्षा हुनुका साथै धानबालीको अवस्था पनि राम्रो रहेकाले सुदूरपश्चिममा यस वर्ष खाद्यान्न अभाव हुने अवस्था नआउने उनले बताए।
यस वर्ष प्रदेशमा धानको उत्पादन बढ्ने प्रारम्भिक अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। पछिल्लो वर्षाको अवस्था हेर्दा पनि धान उत्पादनमा ठूलो असर पर्ने गरी क्षति नभएको केन्द्रको निष्कर्ष छ। यता, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारदेखि वर्षाको मात्रा क्रमशः घट्दै जाने सम्भावना रहेको छ। यसले पाक्न बाँकी धानबालीलाई समेत थप क्षति हुनबाट जोगाउन सहयोग पुग्ने अनुमान गरिएको छ।