सुदूर नेपाललाई विश्वसँग जोड्दै

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

२०८३ असोज ६, ०३:२१ रासस

मुस्ताङ : मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा आइतबारदेखि स्याउ टिप्ने र खाने उत्सव चलेको छ ।

 मुस्ताङमा कृषि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यही असोज ३ देखि १५ गतेसम्म स्याउ टिपेर खाने उत्सव सञ्चालन भएको हो ।

मुलुकमा रसिला र स्वादिला स्याउ उत्पादन गर्दै आएको हिमालपारिको जिल्ला मुस्ताङमा केन्द्रले स्याउ टिप्ने र खाने मेला आयोजना गरेको केन्द्र प्रमुख प्रकाश पन्थले बताए । 
उक्त उत्सवमा सहभागी हुन पुगेका पर्यटक मार्फा क्षेत्रका स्याउ बगानमा लर्को लागेको देखिन्छ ।

स्याउ टिप्ने र बजारमा पठाउने मुख्ययाम सुरु भइसकेकाले मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई स्याउ बारी रम्ने महत्त्वपूर्ण अवसरको प्रदान गरेको छ । 
स्याउ बारीमै पुगेर उत्सव मनाउन चाहने पर्यटक तथा स्थानीयलाई केन्द्रले रु २०० को प्रवेश शुल्क कायम गरेको केन्द्र प्रमुख पन्थले जानकारी दिए ।

स्याउ टिप्ने क्रममा हाँगा भाचिएर बोटमा क्षति पुगेमा एक हजार जरिवाना बुझाउनुपर्ने प्रावधान राखिएको छ ।

विसं २०२३ मा स्थापना भएको केन्द्रले शीतोष्ण फलफूल तथा तरकारीसहित अन्य बालीका बिरुवाको बिक्री र उत्पादन गर्दै आएको छ ।
 

कमेन्ट लोड गर्नुस