सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशमा भ्रमण वर्ष २०२० का लागि तयारी सुस्त

२०७६ भदौ ३०, ११:४५ जनक विष्ट

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० नजिकिदै गर्दा समेत सुदूरपश्चिममा भने राज्य स्तरबाट पर्यटन प्रवर्द्र्धनात्मक गतिविधी शून्य रहेका छन्। भ्रमण वर्षलाई मध्यनजर गर्दै सुदूरपश्चिममा बढि भन्दा बढि पर्यटक भित्र्याउन स्थानीय र प्रदेश सरकारले कुनै गतिविधी नै नगरेको पाईएको हो। अन्य प्रदेशमा भ्रमण बर्षको औपचारिक उद्धघाटन समेत भईसकेको छ तर सुदूरपश्चिम प्रदेशमा तयारी निकै सुस्त छ।

भ्रमण वर्ष २०२० मा पर्यटन प्रवर्द्धनका लागि भन्दै गठन गरिएको समन्वय समितिको बैठक समेत अझै बस्न सकेको छैन् भने प्रदेश सरकारले भने समितिलाई पूर्णता दिन बाँकी रहेकाले बैठक नबसेको दावी गरेको छ। प्रदेशको पर्यटन मन्त्रीको अध्यक्षतामा समन्वय समिति गठन गरेको भएपनि राज्य स्तरबाट कुनै गतिविधी नभएका हुन्।

२० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित घोषणा गरिएको भ्रमण वर्षलाई लक्षित गरी भ्रमण वर्ष समन्वय समिति, प्रदेश सरकार र स्थानीय सरकारले पर्यटन प्रवद्र्धनका कुनै गतिविधि नै नगरेपछि सुदूरपश्चिममा बढि भन्दा बढि पर्यटक भित्रिनेमा आशंका गरिएको छ। तर  नेपाल भ्रमण बर्ष २०२० का लागि गठित सुदूरपश्चिम प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिका प्रादेशिक कार्यक्रम संयोजक परमानन्द भण्डारीले समितिकै बैठक बस्न नसकेका कारण कुनै गतिविधि गर्न नसकिएको बताए। तर स्थानीय स्तरमा विभिन्न कार्यक्रम भने भईरहेको उनको भनाई छ।

प्रदेश सरकारको सिफारिसका आधारमा गठन भएका प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिलाई लिएर भएको विवादको समेत अन्त्य हुन सकेको छैन्। यसअघि प्रादेशिक समिति गठन गर्दा पहाडी जिल्लालाई नसमेटिएको भन्दै विरोध समेत भएको थियो। तीन महिना सम्म समितिमा छनौट भएका व्यक्तिहरुसंग समेत कुनै किसिमको समन्वय नगरेको आरोप लागेको छ। तर छिट्टै समितिलाई पूर्णता दिएर पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने दावी गरिएको छ भने महोत्सव गर्ने योजना रहेको जिकिर प्रदेश सरकारको छ।

पर्यटन प्रवद्र्धन समितिकी अध्यक्ष समेत रहेकी सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले पहिले समिति पूर्णता नभएको दावी गर्दै उक्त कुरा टुङ्गाउने तयारीमा रहेको बताईन्। तर पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गर्ने तयारीमा मन्त्रालय रहेको दावी मन्त्री भट्टको छ।

उनले बाहिर नदेखिएपनि भ्रमण वर्षलाई लक्षित गरी सुदूरपश्चिम महोत्सव गर्ने तयारी समेत भईरहेको बताउँदै महोत्सवमा यहाँका पर्यटकिय स्थलको प्रचार प्रसार तथा विभिन्न प्याकेजहरु चलाउने योजना रहेको सुनाईन्। तर अन्य प्रदेशमा भने पर्यटन प्रवद्र्धन समितिहरुले योजना बनाएर प्रवद्र्धनात्मक कार्यक्रम सुरु गरिसकेका छन्।

समिति गठन गरेपछि छिमेकी कर्णाली प्रदेशले विभिन्न छलफल अन्तरक्रिया गर्दै भ्रमण बर्षका लागि योजना समेत बनाईसकेको छ। कर्णाली प्रदेशले भ्रमण बर्षका लागि ४० वटा मुख्य गन्तव्य समेत छनौट गरिसकेको छ भने भ्रमण बर्षमा बढि भन्दा बढि पर्यटक भित्र्याउनका लागि विभिन्न योजना पनि सार्वजनिक गरिएको छ।

गण्डकी प्रदेशले भ्रमण बर्षको औपचारिक उद्धघाटन नै गरिसकेको छ। तर सुदूरपश्चिम प्रदेशमा भने भ्रमण बर्षका लागि अहिले सम्म कुनै तयारी समेत हुन नसकेको हो। प्रदेश र स्थानीय सरकारले पर्यटन प्रवद्र्धनका लागि कुनै गतिविधी सञ्चालन नगरेका बेला पर्यटन बोर्डले समेत भ्रमण वर्षलाई लक्षित कार्यक्रम नगरेको पाईएको छ । तर नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण बहादुर महराले पर्यटन बोर्डले सुदूरपश्चिममा प्रवद्र्धनात्मक कार्यक्रम राख्ने तयारी गरेको बताए।

भ्रमण वर्षलाई लक्षित गरी ट्राभल मार्ट आयोजना गर्ने तयारी भईरहेको महराले उल्लेख गरे। उनले ट्राभल मार्टमा नेपाल सहित भारतका ट्राभल कम्पनीहरुलाई आमन्त्रण गरी सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरुको विषयमा जानकारी गराउने, प्रचार प्रसार गर्ने योजना रहेको बताए। तर ट्राभल मार्टको मिति भने तय भइनसकेको बोर्डका सदस्य महराले जनाए।  
     

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस