सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षाका कारण यात्रा गर्दा सावधानी अपनाउन प्रहरीको आग्रह

२०८३ भदौ २२, ०४:१० खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा निरन्तर वर्षा भइरहेकाले प्रहरीले नागरिकलाई सुरक्षित र सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ। “सावधानी अपनाऔँ, सुरक्षित रहौँ।” भन्ने सन्देश दिंदै आम नागरिकसंग अपिल  गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने भन्दै अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न अनुरोध गरेको हो। 

प्रहरीले यात्रा गर्नैपर्ने अवस्था आएमा सडकको अवस्था र मौसमसम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ। खोलानाला तथा नदी किनारमा नजान र पानीको बहाव बढेको अवस्थामा विशेष सावधानी अपनाउन पनि प्रहरीले सचेत गराएको छ।

त्यस्तै, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षामा विशेष ध्यान दिन, सवारीसाधन चलाउँदा सडकमा पानी जमेको अवस्थामा गति कम गरी 
सावधानीपूर्वक चलाउन प्रहरीले आग्रह गरेको छ।

बाढी, पहिरो वा सडक अवरुद्ध भएको स्थानमा जबर्जस्ती यात्रा नगर्न तथा वर्षाका बेला विद्युत्का तार, पोल र अन्य जोखिमयुक्त संरचनाबाट टाढा रहन पनि प्रहरीको अनुरोध छ।

कुनै विपद् वा जोखिमको अवस्था देखिएमा तत्काल सुरक्षित स्थानमा सर्न र आपत्कालीन अवस्थामा नेपाल प्रहरीको १०० तथा ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले पनि नागरिकलाई विपद्का समयमा आवश्यक सावधानी अपनाउन निरन्तर सचेत गराउँदै आएको छ ।

कमेन्ट लोड गर्नुस