बाढीपहिरो पीडितका लागि सुदूरपश्चिमेली नेपाली समाजद्वारा १ लाख १ हजार सहयोग
धनगढीः रसुवामा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनाका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले आर्थिक सहयोग गरेको छ।
समाजको तर्फबाट प्रधानमन्त्री राहत कोषमा १,०१,००० (एक लाख एक हजार रुपैयाँ) जम्मा गरिएको छ। प्रवासमा रहेका सुदूरपश्चिमेलीहरूलाई समेटेर सामाजिक कार्यमा सक्रिय रहँदै आएको यस समितिले प्राकृतिक विपत्तिको यो कठिन घडीमा पीडितहरूलाई सानो भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सो रकम सहयोग गरेको जनाएको छ।
सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले यसअघि पनि मुलुकमा आइपर्ने विभिन्न प्राकृतिक विपत्ति, महामारी र सामाजिक संकटका वेला अग्रसर भई राहत तथा उद्धार कार्यमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ।