सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज संसद्मा प्रधानमन्त्री शाहको प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले प्रश्न सोध्दै

२०८३ भदौ १०, १०:०८ खबर संवाददाता

काठमाडौँः प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको प्रत्यक्ष जवाफ दिँदै छन्। प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीले पहिलोपटक नियमित प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लागेका हुन्।

प्रतिनिधिसभा नियमावलीको परिच्छेद–९ मा प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्री संसद्मा उपस्थित भई सांसदहरूले दर्ता गराएका लिखित प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ। यसअघि जेठ १७ गते सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाह संसद्मा उपस्थित भएका थिए। त्यसयता प्रश्नोत्तर कार्यक्रममा सहभागी नभएपछि सभामुख डिपी अर्यालले भदौ १ गतेको बैठकबाट आजको बैठकमा अनिवार्य उपस्थित हुन रुलिङ गरेका थिए।

आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहित नेकपा एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका गरी ११ सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्ने भएका छन्।

सांसदहरूले मुख्य रूपमा जेठ १७ गते संसद्मा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिबारे स्पष्टीकरण माग्ने तयारी गरेका छन्। त्यस्तै, सरकारको तीनमहिने कार्यकालको समीक्षा, सुशासन, बजेट कार्यान्वयन, विकास निर्माण तथा संसद्प्रति सरकारको जवाफदेहितालगायत समसामयिक विषयमा पनि प्रश्न केन्द्रित छन्।

यसैबीच, प्रधानमन्त्री शाहले चिकित्सकको सल्लाहअनुसार संसद्मा कालो चस्मा लगाएर उपस्थित हुने जानकारी संसद् सचिवालयलाई गराएका छन्। वीरेन्द्र सैनिक अस्पतालका नेत्ररोग विशेषज्ञले उज्यालोमा देख्न कठिनाइ हुने समस्याका कारण उनलाई सनग्लास र आई ड्रप प्रयोग गर्न सिफारिस गरेका थिए।

कमेन्ट लोड गर्नुस