पुजा धानुक मृत्यु प्रकरण: श्रीमान र नन्द कारागार चलान
धनगढी: धनगढीमा गत साउनमा २३ वर्षीया पुजा धानुुक मृत भेटिएको घटनामा अदालतले श्रीमानसहितका दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।
जिल्ला अदालतका न्यायाधिश ठाकुरप्रसाद पौडेलको एकल इजलाशले मृतकका श्रीमान भरत धामी र उनकी नन्द भावना धामीलाई पुर्पक्षका लागि कारागार चलाउन गर्न आदेश दिएको हो ।
कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका अन्य तीन जनालाई भने धरौटीमा छाड्न आदेश दिइएको छ । अदालतकाअनुसार धामीकी फूपु सरस्वती धामी बोहरा, बाजे रामबहादुर धामी, बज्यै मीनादेवी धामीलाई भने धरौटीमा छाड्न आदेश दिइएको छ ।
सरस्वतीलाई एक लाख र रामबहादुर र मीनादेवीलाई डेढ लाख धरौटीमा छाड्न आदेश दिइएको अदालतले जनाएको छ । धनगढी उपमहानगरपालिका–४ को न्यू रोड टोल बस्ने धानुुकको गत ११ साउनमा मृत्यु भएको थियो । धानुकका परिवारले उनी कोठामा झुुन्डिएको अवस्थामा फेला पारेको भन्दै बाच्ने आशले नवजीवन अस्पताल पुगाएको बताएका थिए ।
तर, धानुुकलाई अस्पतालले मृत घोषणा गरेको थियो । कैलाली प्रहरीले धानुकका माइती पक्षले दिएको कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दर्ता गरेर घटनाबारे अनुसन्धान गरेको थियो ।
धानुकको मृत्युपछि माइती पक्षले उनको हत्या गरिएको भन्दै कारवाहीको माग गर्र्दै धनगढी आन्दोलन चर्काएको थियो भने मृत्यु भएको हप्ता दिनपछि मात्र शव बुझ्न दिइएको थियो ।