डोटीको जोरायलमा स्थानीयको जनश्रमदानबाट अवरुद्ध सडक सुचारु
डोटी: बर्खायाम सुरु भएसँगै सडक अवरुद्ध भएपछि डोटीको जोरायल गाउँपालिका–६ का स्थानीयले जनश्रमदान गरेरै वडाभित्रका ग्रामीण सडक सुचारु गरेका छन् ।
वडाभित्रका विभिन्न टोलबाट अन्य स्थानसम्म मोटरसाइकलसमेत जान नसक्ने गरेर यातायात सेवा अवरुद्ध भएको थियो ।
सडक भत्किएर यातायात सञ्चालन हुन नसक्दा बिरामी र अशक्त व्यक्तिलाई उपचारका लागि स्वास्थ्य संस्थासम्म लैजानसमेत समस्या भएपछि जोरायल गाउँपालिका–६ का वडाध्यक्ष गणेश बोहोराले स्थानीयलाई श्रमदानका लागि आह्वान गरेका थिए।
वडा कार्यालयको आह्वानपछि स्थानीय महिला तथा पुरुषको सहभागितामा सडक मर्मत गरिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयको आह्वानमा स्थानीयले देखाएको सक्रियताकाे उच्च प्रशंसा गर्दै वडाध्यक्ष बोहोराले तत्काल जनश्रमदानले सडक मर्मतसम्भार तथा ढल निकास भई सबै सडकमा मोटरसाइकलसम्म भए पनि गुड्न सक्ने भएका र फेरि पनि सडक अवरुद्ध भए वडावासीले आफ्नो महत्वपूर्ण श्रम दिने उनले विश्वास व्यक्त गरे। सडक मर्मतमा सहभागी स्थानीय डम्मरा साउदले वडाभित्रका अवरुद्ध सबै शाखा सडक जनश्रमदानबाटै मर्मत गरेर सञ्चालन गरिएकोमा खुसी व्यक्त गरिन्।
स्थानीय जारिमघाटखोलामा पुल नहुँदा वडाका विभिन्न टोलसम्म मोटरसाइकलबाहेकका सवारीसाधन लैजान समस्या पर्दै आएको छ । खुटिया–दिपायल सडक अन्तर्गतको सो खोलामा पुल निर्माण हुनुपर्ने भए पनि हालसम्म पुल बन्न सकेको छैन ।
स्थानीय रमेश बोहोराले श्रमदान गर्नु प्रत्येक नागरिकको कर्तव्य पनि भएकाले पनि सडक मर्मतमा सबै जना सहभागी भएको बताए। -गाेरखापत्रबाट