पूर्वीचौकीमा स्वास्थ्यकर्मी समयमै नपुग्दा बाटोमै सुत्केरी,अस्पतालको सेवा प्रवाहमाथि प्रश्न
डोटीको पूर्वीचौकी गाउँपालिका–१० शैंयाँमा रहेको आधारभूत अस्पताल सञ्चालनमा आएको करिब एक वर्ष बितिसक्दा पनि सेवा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको भन्दै स्थानीयले गुनासो गरेका छन्।
स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा अस्पतालका स्वास्थ्यकर्मी समयमै उपलब्ध नहुँदा एक सुत्केरी महिलाले अस्पताल पुग्नुअघि नै बाटोमै बच्चा जन्माउनुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ।
स्थानीयका अनुसार सुत्केरी व्यथा लागेपछि महिलालाई स्टेचरमा बोकेर अस्पताल लैजान खोज्दा अस्पतालका कर्मचारी तथा जनप्रतिनिधिसँग करिब एक घण्टासम्म पटक–पटक फोन सम्पर्क गरिएको थियो। तर, समयमा स्वास्थ्यकर्मी उपलब्ध हुन नसकेपछि आफैं कर्मचारी खोजेर ल्याउनुपर्ने अवस्था सिर्जना भएको बताइएको छ।
स्वास्थ्यकर्मी आउन ढिला भएपछि सुत्केरी महिलालाई अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै बच्चा जन्मिएको स्थानीय विष्णु खड्कासहितको युवाको टोलीले जनाएको छ। युवाहरूले तत्काल उद्धार गरी महिला र नवजात शिशुलाई अस्पताल पुर्याएर सुरक्षित रूपमा प्रसूति सेवा उपलब्ध गराएको बताइएको छ।
स्वास्थ्य संस्था सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि आकस्मिक अवस्थामा स्वास्थ्यकर्मी समयमै उपलब्ध नहुनु गम्भीर विषय भएको स्थानीयको भनाइ छ। उनीहरूले अस्पताल व्यवस्थापन, गाउँपालिका तथा सम्बन्धित निकायले घटनाबारे गम्भीर समीक्षा गरी सेवा प्रवाहमा देखिएका कमजोरी तत्काल सुधार गर्न माग गरेका छन्।
विशेषगरी प्रसूति सेवा जस्तो संवेदनशील अवस्थामा स्वास्थ्यकर्मीको अनुपस्थितिले महिला र नवजात शिशुको ज्यान जोखिममा पर्न सक्ने भएकाले अस्पतालले चौबीसै घण्टा आवश्यक स्वास्थ्यकर्मी तथा आकस्मिक सेवा उपलब्ध हुने व्यवस्था सुनिश्चित गर्नुपर्ने स्थानीयको माग छ।
घटनाले दुर्गम क्षेत्रमा निर्माण गरिएका आधारभूत अस्पतालको भौतिक संरचना मात्रै पर्याप्त नभई दक्ष जनशक्ति, नियमित सेवा र आकस्मिक अवस्थामा तत्काल उपचार पाउने व्यवस्था पनि उत्तिकै आवश्यक रहेको देखाएको छ।
सम्बन्धित निकायले घटनाको छानबिन गरी जिम्मेवारी र जवाफदेहिता स्पष्ट गर्न तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्नुपर्ने देखिन्छ।