सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा बन्द, सर्वसाधारण मर्कामा
धनगढीः सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा बन्द गरिएको छ। २०७९ फागुनदेखि सुरू भएको विस्तारित अस्पताल सेवा गत चैतदेखि नै बन्द गरीएको हो।
विस्तारित सेवा सञ्चालनमा हुँदा सेतीबाट साँझ तीन बजेपछि पनि ओपिडी सेवा लिन मिल्थ्यो। ओपिडि र अन्य उपचारमा न्यूनतम शुल्क तिरेर बिरामीले सहजै उपचार सेवा पाउने अवस्था हाल आएर बन्द गरिएको हो। विस्तारित अस्पताल सेवामा ओपिडीसँगै प्रयोगशाला र शल्यक्रिया सेवा पनि प्रदान गरिँदै आएको थियो। जसले गर्दा कमजोर आर्थिक अवस्था भएका बिरामीले सस्तो उपचार सेवा पाउँदै आएका थिए। तर अहिले भने जनशक्तिको अभाव देखाएर सेती प्रादेशिक अस्पतालले विस्तारित अस्पताल सेवा स्थगित गरेको जनाएको छ।
अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठले जनशक्ति अभावले गर्दा विस्तारित अस्पताल सेवा स्थगित गरिएको जानकारी दिए। 'सेतीमा जनशक्ति अभावले गर्दा चैतदेखि विस्तारित अस्पताल सेवा स्थगित गर्नु परेको छ। सरकारले बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म ड्युटी गर्नुपर्ने नियम ल्याएपछि विस्तारित अस्पताल सेवा स्थगित गर्नु परेको हो,' सूचना अधिकारी श्रेष्ठले दिनेशखबरसँग भने।
विस्तारित स्वास्थ्य सेवा तीन वर्षमै बन्द
२०७९ फागुनमा सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पाल सेवा सुरू गर्दै शनिवार र सार्जनिक विदाका दिन बाहेक आइतवारदेखि शुक्रवारसम्म दिउँसो ३ बजेदेखि उपचार सेवा सञ्चालन हुने बताइएको थियो।
सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले विस्तारित अस्पताल सेवा सुरू भएसँगै साँझ तीन बजेपछि पनि ओपिडी सेवा सञ्चालन हुने र विस्तारित अस्पताल सेवाअन्तर्गत टाढाबाट आउने विरामीले सहजै कम शुल्क तिरेर उपचार गराउन सक्ने बताएका थिए।
तर पाण्डे नै अस्पतालको मेसु हुँदा सुरू भएको सेवा तीन वर्षमै बन्द गर्नुपर्ने अवस्था आएको छ। अस्पतालले जनशक्तिको अभाव देखाएर सेवा बन्द गरेको बताए पनि सेतीमा कार्यरत चिकित्सकहरूले बाहिरका निजी अस्पताल र क्लिनिकमा भने सेवा दिन छोडेका छैनन्। अस्पतालमा काम गर्दा समय नपुग हुने तर बाहिर भने कार्यालय समयमै छात्रवृत्ति कराररमा कार्यरत चिकित्सकले समेत काम गर्दै आएको विवरणहरू सार्वजनिक हुने गरेका छन्।
विस्तारित अस्पताल सेवाका लागि ओपिडि टिकट दर्ता सेवा सञ्चालन दिउँसो २ वजेदेखि बेलुका साढे चार बजेसम्म खुला हुने व्यवस्था थियो। विस्तारित अस्पताल सेवामार्फत सेवा लिएका विरामीले ८ दिनसम्म फेरि परामर्श सेवा लिन आउँदा थप दस्तुर नलाग्ने व्यवस्था थियो। ओपिडीमा विस्तारित सेवा लिएका विरामीले भने शल्यक्रिया र प्रयोगशाला जाँच गर्नुपरे विस्तारित अस्पताल सेवा अन्तर्गत नै गराउनुपर्ने नियम थियो।
विस्तारित अस्पताल सेवा अन्तर्गत विरामीले परामर्श शुल्क ४ सय मात्रै थियो भने प्रयोशाला र शल्यक्रिया शुल्क निजी अस्पतालको भन्दा कम तोकिएको थियो। अस्पतालले सेवा बन्द गर्दा टाढाबाट आउन तथा न्यून आय भएका बिरामीले निजी स्वास्थ्य संस्थामा परामर्श शुल्क मात्रै एक हजार रुपैयाँसम्म तिर्नु पर्ने अवस्था बनेको छ।
सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिले पनि सरकारले नयाँ नियम लगाएपछि विस्तारित अस्पताल सेवा स्थगित भएको जनाएको छ। हालको समिति नियुक्त भएको एक महिना नपुग्दै अस्पतालले दिँदै आएको विस्तारित सेवा बन्द भएको हो। गत चैत १० गते समितिले पदबहाली गरेको हो भने चैत २२ गतेपछि विस्तारित अस्पताल सेवा बन्द भएको हो।
यता, अस्पताल व्यवस्थापन समितिले पनि जनशक्ति अभावले नै सेवा बन्द भएको जनाएको छ। व्यवस्थापन समितिका अध्यक्ष बलराम भट्टले अस्पताल प्रशासनले जनशक्ति नपुग्ने भनेकाले सेवा नै बन्द गर्नु परेको बताए।
तर, सर्वसाधारणले भने अस्पतालले निहुँ खोजेर नै विस्तारित अस्पताल सेवा बन्द गरिएको आशंका गरेका छन्। सेती अस्पतालमा भेटिएका बैतडीको पुर्चौडीका परमानन्द पन्तले गत वर्ष विस्तारित अस्पताल सेवाबाट उपचार गराएकोमा यो पटक आउँदा सेवा नै बन्द भएकाले महङ्गोमा अन्यत्र उपचार गर्नु परेको गुनासो गरे। उनले सर्वसाधारणलाई सहयोग पुग्ने सेवा चाँडै सुरू हुनुपर्ने धारणा राखे।