सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम

२०८३ साउन २५, १०:१३ खबर संवाददाता

काठमाडौँः जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार देशका प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तलै छ।

महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको तथ्यांकअनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली नदीमा बाढीको खतरा छैन। यस्तै, यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सामान्य अवस्थामै छ।

प्रमुख नदीहरू शान्त रहे पनि झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुङ र सङ्खुवासभाका साना नदीहरूमा भने आज बाढीको जोखिम देखिन्छ। सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ र म्याग्दी भई बहने खोलाहरूमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ।

यसैगरी गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बर्दिया, कैलाली, बझाङ, दार्चुला र बैतडीका साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम छ। महाशाखाका अनुसार यी ३९ जिल्ला र आसपासका क्षेत्रमा बहने साना नदीहरूमा जलस्तर एक्कासि बढ्न सक्छ।

आगामी दुई दिन अर्थात् साउन २६ र २७ गते पनि कोशी र गण्डकी प्रदेश भई बहने केही साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने महाशाखाले जनाएको छ। तसर्थ, जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस