सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ग्यास अभाव नरहेको डिलरको दाबी, उपभोक्तालाई नआत्तिन आग्रह

धनगढीमा ग्यास अभाव नरहेको डिलरको दाबी, ‘उपभोक्तालाई नआत्तिन आग्रह’

२०८३ साउन २४, ०५:१६ लक्ष्मण ढुङ्गाल

धनगढी: केही दिनयता बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको चर्चा चलेपछि धनगढीका उपभोक्तामा पनि चिन्ता बढेको छ।

सामाजिक सञ्जालमा देशका विभिन्न स्थानमा ग्यासका लागि लामो लाइन लागेका दृश्य सार्वजनिक भएपछि धनगढीमा समेत ग्यास अभाव हुने आशंकामा उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर मौज्दात राख्न थालेका छन्।

तर, धनगढीका ग्यास डिलरहरूले भने यहाँ ग्यासको आपूर्ति नियमित भइरहेको र तत्कालै चरम अभाव हुने अवस्था नरहेको बताएका छन्। अन्य प्रदेशमा देखिएको अभावको प्रभाव धनगढीमा समेत परेको भए पनि आपूर्ति व्यवस्थापनमा समस्या नरहेको उनीहरूको भनाइ छ।

न्यु सेती ग्यास एण्ड ट्रेडर्सका थोक बिक्रेता शुशिलराज जोशीका अनुसार अन्य प्रदेशमा ग्यास अभाव भएको समाचार तथा सामाजिक सञ्जालमा आएका सामग्रीका कारण उपभोक्तामा त्रास बढेको हो। त्यसैका कारण सामान्यतया एक सिलिन्डर आवश्यक पर्ने उपभोक्ताले समेत पाँचदेखि १० वटासम्म सिलिन्डर मौज्दात राख्न थालेपछि केही समय बजारमा अभावजस्तो अवस्था सिर्जना भएको उनले बताए।

उनका अनुसार धनगढीमा पछिल्लो एक सातादेखि केही अभाव देखिए पनि दैनिकजसो ग्यास बोकेका ट्यांकर आइरहेका छन्। वर्षाका कारण भारततर्फको सडकमा ग्यास बोकेका केही ट्यांकर रोकिँदा आपूर्तिमा केही ढिलाइ भएको उनले बताए।

जोशीका अनुसार मंगलबार साँझसम्म थप ग्यास धनगढी आइपुग्ने र त्यसपछि बजारमा देखिएको अभावसमेत कम हुने अपेक्षा गरिएको छ।

धनगढीमा हाल मनकामना, शैपाल, भेरी रेडिन्टलगायत विभिन्न ब्रान्डका ग्यास बिक्री हुँदै आएका छन्। ती कम्पनी तथा डिलरहरूले बजारमा ग्यासको अभाव हुन नदिने गरी आपूर्ति व्यवस्थापन भइरहेको बताएका छन्।

धनगढीमा हाल प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ मा ग्यास बिक्री भइरहेको जोशीले बताए। तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने बिक्रेतामाथि कारबाही गरिने उनको भनाइ छ।

अन्य प्रदेशमा ग्यासका लागि उपभोक्ताले लामो लाइनमा बसेका दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा सार्वजनिक भइरहेका छन्। यस्ता दृश्यका कारण धनगढीका उपभोक्तामा पनि ग्यास अभाव हुने त्रास फैलिएको डिलरहरूको भनाइ छ।

डिलरहरूले सामाजिक सञ्जालमा आएका अपुष्ट सूचना र हल्लाका आधारमा आवश्यकताभन्दा बढी ग्यास मौज्दात नराख्न तथा बजारमा अनावश्यक दबाब सिर्जना नगर्न उपभोक्तालाई आग्रह गरेका छन्। नियमित आपूर्ति भइरहेको भन्दै उनीहरूले ग्यास अभाव हुन्छ भनेर नआत्तिन समेत उपभोक्तालाई आग्रह गरेका छन्।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस