अत्तरियामा टेस्ट ड्राइभका लागि लगेको मोटरसाइकल लिएर युवक फरार
धनगढी: कैलालीको अत्तरियास्थित बाबु अटो सेल्सबाट टेस्ट ड्राइभ गर्ने बहानामा एक युवक मोटरसाइकल लिएर फरार भएका छन्।
साउन २३ गते मोटरसाइकल खरिद गर्ने भन्दै टेस्ट ड्राइभका लागि मोटरसाइकल मागेका युवकले लगेको मोटरसाइकल हालसम्म फिर्ता नगरेको अटो सेल्सले जनाएको छ। फरार युवकले लगेको मोटरसाइकलको नम्बर सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७६७२ रहेको छ।
अटो सेल्सले फरार युवकको तस्बिरसमेत सार्वजनिक गर्दै उनलाई चिन्ने वा देख्ने व्यक्तिलाई तत्काल जानकारी गराइदिन आग्रह गरेको छ। अटो सेल्सका सञ्चालक बाबु भट्टराईले युवकको तस्बिर र घटनाबारे भिडियो सार्वजनिक गरेपछि अन्य स्थानबाट पनि उनले यसैगरी मोटरसाइकल लगेको जानकारी आउन थालेको बताए।
भट्टराईले घटनाबारे सम्बन्धित निकायमा जानकारी गराउँदै फरार युवकको खोजी तथा मोटरसाइकल फिर्ताका लागि पहल भइरहेको बताए।