सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्व बिजेताको गृह प्रदेश सुदूरपश्चिममै नेपाल आइडलको अडिसन नहुने

२०७६ भदौ २५, ०२:२७ खबर संवाददाता

नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडको गृह प्रदेश सुदूरपश्चिममै सिजन–३ को अडिसन नहुने भएको छ। आयोजकले नेपाल आइडल सिजन–३ को अडिसन काठमाडौं, पोखरा, विरगंज, बुटवल, नेपालगंज र विर्तामोड गरी ६ स्थानमा मात्रै गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। 

नेपाल आइडलको पहिलो सिजनमा पनि सुदूरपश्चिमका कुनै पनि सहरमा अडिसन भएको थिएन तर, काठमाडौंबाटै अडिसन दिएर धनगढीकी सध्या जोशी उत्कृष्ट–९ सम्म पुगेकी थिईन्। सिजन–२ को अडिसन धनगढीमा भएको थियो र धनगढीबाटै अडिसन दिएका रवि ओड बिजेता नै बनेका थिए। 

नेपाल आइडलको धनगढीमा अडिसन हुँदा सयौँ नव प्रतिभाले सहभागीता जनाएका थिए। यसपटक सुदूरपश्चिममा अडिसन नहुने भएपछि नवप्रतिभा निराश भएका छन्। गत वर्षको विजेताको प्रदेशमै अडिसन नराखेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आइडलको आलोचना गरिरहेका छन्।

नेपाल आइडलले फेसबुकमा सार्वजनिक गरेको अडिसन कार्यक्रममा प्रतिक्रीया जनाउँदै भीम बोहराले सुदूरपश्चिममा अडिसन नराखेको भन्दै व्यङ्ग्य गर्दै भनेका छन्, ‘यो नेपाल आइडलमा सुदूरपश्चिम प्रदेशलाई समावेश नगर्ने हो र ? सुदूरपश्चिम बाहेक सबै प्रदेशमा रहेछ किन यस्तो मतभेद ?’

कमेन्टमै थोमस तेजु बोहराले नेपाल आइडललाई प्रश्न गर्दै आक्रोस पोखेका छन्, ‘पूर्ब बिजेताको शहरमा अडिसन खोइ ? हेप्ने ? पोहर तर्सिए जस्तो छ नि ?’ पहिलो सिजनमा धनगढी अडिसन नराखेको नेपाल आइडलले चर्को दबावपछि दोस्रो सिजनमा राखेको थियो।

तर, तेस्रो सिजनमा फेरि अडिसन हटाएपछि आलोचनाको शिकार बन्नु परेको हो। तर, नेपाल आइडलले भने नियम अनुसार नै धनगढीमा अडिसन नराखिएको दाबी गरेको छ। ‘यसमा कुनै पक्षपात, कसैलाई महत्व दिएको÷नदिएको भन्ने छैन,’ नेपाल आइडलका एक कर्मचारीले भने, ‘हामीले तयारीको भिडियो पठाउन भनेका थियौं।

जहाँबाट हामीलाई बढी भिडियो मेलमार्फत प्राप्त भयो, त्यही स्थानलाई छनौट गरेर अडिसन गर्न लागेका हौं।’
 

कमेन्ट लोड गर्नुस