सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा असोज २४ देखि शनिबारीय महिला उद्यम बजार सञ्चालन हुने

फाइल फोटो
फाइल फोटो
२०८३ साउन २३, ०४:०६ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिकाले स्थानीय महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले शनिबारीय महिला उद्यम बजार सञ्चालन गर्ने भएको छ। उपमहानरपालिकाले आगामी असोज २४ गते शनिवारदेखि महिला उद्यम बजार सञ्चालन गर्ने भएको हो।

उपमहानगरपालिकाको रोजगार प्रवर्द्धन शाखाले जारी गरेको सूचनाअनुसार ‘महिलाहरूको श्रमको सम्मान, आर्थिक सशक्तीकरणको अभियान’ भन्ने मूल नाराका साथ सञ्चालन हुँदै आएको शनिबारीय महिला उद्यम बजारलाई आर्थिक वर्ष २०८३/८४ मा समेत निरन्तरता दिइने भएको हो।

उपमहानगरपालिकाले जारी गरेको सूचनामा बजारमा आफ्ना उत्पादन तथा सेवाको प्रदर्शन, बिक्री तथा वितरण गर्न इच्छुक स्थानीय महिला उद्यमीलाई साउन २५ गतेदेखि भदौ २६ गतेसम्म कार्यालय समय भित्र आवेदन दिन आग्रह गरिएको छ।

इच्छुक महिला उद्यमीले उपमहानगरपालिकाको रोजगार शाखामा सम्पर्क गरी तोकिएको अवधिभित्र आवेदन फाराम भर्नुपर्नेछ।

उपमहानगरपालिकाका अनुसार शनिबारीय महिला उद्यम बजार धनगढीको जेन्जी मार्गमा सञ्चालन हुनेछ। बजार हरेक शनिबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने जनाइएको छ।

उपमहानगरपालिकाले महिला उद्यमीले उत्पादन गरेका स्थानीय वस्तु तथा सेवाको बजार विस्तारसँगै महिलाको आर्थिक सशक्तीकरणमा समेत बजारले योगदान पुग्ने बताएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस