सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालको पहिलो आधुनिक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा

२०८३ साउन ११, ०१:०७ खबर संवाददाता

धनगढीः नेपालकै पहिलो आधुनिक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। आयोजित उद्घाटन समारोहमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, नेपालका लागि जापानी राजदूत माएदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का नेपाल प्रमुख मिजुकी मात्सुजाकीलगायतको उपस्थिति रहेको थियो।

सुरुङमार्ग सञ्चालनमा आएसँगै यसको निर्माण प्रक्रियाभन्दा पनि शिलान्यासका बेला राखिएको शिलालेखको विषय चर्चामा आएको छ। मन्त्री लम्सालले २०७६ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यासका क्रममा राखेको, तर पछि हराएको शिलालेख खोजी गरी पुनःस्थापना गरिने घोषणा गरेका छन्।

उद्घाटन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले शिलालेख हराउनु उचित नभएको भन्दै त्यसको खोजी गरी पूर्ववत् रूपमा स्थापना गरिने बताए। ओलीको नाम उल्लेख गरिएको उक्त शिलालेख हटाइएको विषयलाई लिएर लामो समयदेखि विभिन्न राजनीतिक वृत्तमा आलोचना हुँदै आएको थियो।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको अवधारणा र विकासक्रम भने विभिन्न सरकारसँग जोडिएको छ। यसको सम्भाव्यता अध्ययन २०६६/६७ सालतिर झलनाथ खनाल र डा. बाबुराम भट्टराई प्रधानमन्त्री रहेका बेला सुरु भएको थियो। २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गरेका थिए भने मुख्य सुरुङको ‘ब्रेकथ्रु’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेका बेला सम्पन्न भएको थियो। अब उक्त सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ।
 

कमेन्ट लोड गर्नुस