गेटामा विश्वविद्यालय बिथोल्ने खेल स्वीकार्य छैनः नागरिक अगुवा
धनगढीः गेटामा सञ्चालनमा आउन लागेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बिथोल्ने खेल हुन लागेको भन्दै धनगढीका नागरिक समाजका अगुवाहरूले आपत्ति जनाएका छन्। डाक्टर गोविन्द केसीले बुधवाबाट सुरू गरेको अनशन र त्यो क्रममा राखेका मागहरूले विश्वविद्याल बिथोलिने आशंक गरेका हुन्।
नागरिक अगुवा खडकराज जोशी, दिनेशराज भण्डारी र प्रमोद पाठकले डाक्टर केसीको अनशनले गेटामा सञ्चालनको मुखमै रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बिथोल्ने वातावरण तयार गरेको बताएका हुन्। उनीहरूले डाक्टर केसीले विगमा उठाएका माग र मुद्दाको सडमै उत्रिएर समर्थन गरेको भए पनि यो पटक गरिएको अनशनको पक्षमा उभिन नसकिने बताएका हुन्।
नागरिक अधिकारकर्मीसेमत रहेका खडकराज जोशीले यो पटक डाक्टर केसीको अनशन सुदूरपश्चिमको हित विपरीत रहेको बताए। उनले सुदूरपश्चिमका करिब ३० लाख जनताको मागका विरुद्ध डाक्टर केसीले धनगढीमै आएर अनशन बसेको बताए। 'डाक्टर केसीलाई सुदूरपश्चिमको हितका लागि अनशन बसे भन्ने लागेको होला, सुदूरपश्चिमको ३० लाख जनाताको माग एकातिर डाक्टर केसीको अनशन अर्कोतिर भएको अवस्था हो,' उनले भने, 'विश्वविद्यालय सञ्चालन हुने बेलामा अनशन बस्नु भनेको कि उहाँ परिचालित हुनुपर्छ हैन भने विश्वविद्यालय बिथोल्न आएका हुन्।'
जोशीले अगाडि भने, 'डाक्टर केसीले विगतमा उठाएका मागको समर्थन गरेको भए पनि यो पटक उठाइएका माग गलत छ। गेटामा पूर्वाधार तयार भएर पढाइ सुरु हुने बेला आएर अनशन बस्ने कार्यमा यहाँका नागरिकहरूको प्रश्न छ।' सुदूरपश्चिमको माग अर्कै तथा डाक्टर केसीले बेग्लै माग राख्नु उचित नहुने जोशी बताउछन्।
धनगढिकै नगारिक समाजका अगुवा प्रमोद पाठकले गेटामा विश्वविद्यालय नै सञ्चालन हुनुपर्ने बताएका छन्। उनले गेटामा विश्वविद्यालय सञ्चालन हुने र यो वर्षबाटै पढाइ सञ्चालन हुने कुरामा कसैले पनि विमति राख्न नहुने बताए। ' गेटामा विश्वविद्यालय हुने भनेपछि यसलाई सञ्चालन गर्नुपर्छ। डाक्टर केसी आदरणीय व्यक्ति हो, उहाँले पनि विश्वविद्यालयका लागि पहल गर्नुपर्छ,' पाठकले भने।
धनगढीका व्यवसायी दिनेशराज भण्डारीले आफू कुनै समय डाक्टर केसीको फ्यान भएको स्मरण गर्दै हालको अनशनलाई भने समर्थन गर्न नसकिने बताए। उनले विश्वविद्यालय सञ्चालन गर्ने समयमा मेडिकल कलेज हुनुपर्छ भन्ने माग राख्नु गलत भएको उनले बताए।
'कुनै दिन म पनि उहाँको फ्यान थिएँ, माइतीघर मण्डलामा पुगेर समर्थन पनि गरिएको हो,' उनले भने, 'आज सुदूरपश्चिमको फरक परिवेश छ, विश्वविद्यालय सञ्चालन गर्ने समयमा मेडिकल कलेजको माग राख्नु गलत छ।'
सुदूरपश्चिमका अधिकांश सर्वसाधारणले डाक्टर केसीको अनशन गलत समयमा गलत माग राखेर सुरू भएको बताएका छन्। तर धनगढीका निजी अस्पतालमा लागनी गरेका र तिनका निकट रहेका व्यक्तिहरूले भने डाक्टर केसीको अनशनको समर्थन गरेका छन्।